Butwal Today

एमआरपी विवाद समाधानपछि भन्सार जाँचपास पुनः सुरु

२४ बैशाख २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ  । आयातित वस्तुमा भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य एमआरपी अनिवार्य गर्ने सरकारी कडाइपछि उत्पन्न भएको व्यापारिक अवरोध अन्ततः सहमतिमा पुगेको छ। विवाद चर्किएसँगै नाकामा रोकिएका मालवाहक ट्रकहरू अहिले क्रमशः भन्सारबाट छुट्न थालेका छन्। भन्सार विभाग र व्यवसायीबीच भएको सहमतिपछि बुधबारदेखि वीरगञ्ज, विराटनगर लगायत प्रमुख नाकाहरूमा जाँचपास प्रक्रिया पुनः सुरु गरिएको हो।

नयाँ व्यवस्था अनुसार अब आयातकर्ताले भन्सारमै एमआरपी स्वघोषणा गर्नुपर्नेछ भने सामान गोदाममा पुर्‍याएर लेबल टाँस गरेपछि मात्र बजारमा पठाउन पाइनेछ। भन्सार विभागका अनुसार तत्कालका लागि कडाइपूर्ण पुरानो व्यवस्था स्थगित गरिएको छ र आगामी तीन महिनासम्मका लागि व्यावहारिक सहजीकरण लागू गरिएको हो। यसबारे सबै भन्सार कार्यालयलाई आन्तरिक सर्कुलरमार्फत निर्देशन दिइएको छ।

नीति कडाइपछि राजस्व संकलनमा असर, हजारौं ट्रक नाकामै रोकिएको अवस्था र व्यवसायीको चर्को दबाबपछि सरकार पुनर्विचार गर्न बाध्य भएको बताइएको छ। विभागका अनुसार एकै दिनमा करिब १ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। व्यवसायीहरूले भन्सारमै तत्काल लेबल टाँस्ने व्यवस्था अव्यावहारिक भएको भन्दै विरोध जनाउँदै आएका थिए। वीरगञ्ज उद्योग वाणिज्य संघका अनुसार करिब २ हजार ट्रक रोकिँदा ठूलो आर्थिक क्षति भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?