© 2026
रोल्पा । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा रोल्पाको थवाङमा वैशाख १९ र २० गते ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ भव्यताका साथ सम्पन्न भएको छ। ‘प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उत्सवले देशभरका प्रगतिशील साङ्गीतिक धाराका कलाकार र सर्जकहरूलाई एकै थलोमा उभ्याएको छ।
उत्सवको उद्घाटन लुम्बिनी प्रदेशमा सभामुख तुलाराम घर्ती मगरले गरेका थिए। उद्घाटन मन्तव्यमा उनले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा प्रगतिशील सङ्गीतकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै बदलिँदो समयअनुसार समाजलाई अग्रगमनतर्फ लैजान पुनः एकताबद्ध हुनुपर्नेमा जोड दिए।
उत्सवको पहिलो दिन प्रगतिशील सङ्गीतको इतिहास, विकास र वर्तमान भूमिकाबारे केन्द्रित विमर्श, भएको थियो। जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष भीम कुमाखीले कार्यपत्र प्रस्तुत गर्दै प्रगतिशील सङ्गीतको आन्दोलनसँगको सम्बन्ध र यसको सामाजिक प्रभावबारे विश्लेषण गरिन। कार्यपत्रमाथि विभिन्न विद्वान, कलाकर्मी तथा सञ्चारकर्मीहरूले टिप्पणी तथा सुझाव दिएका थिए।
कार्यक्रमको अध्यक्ष तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महराले राज्यस्तरबाट पहिलोपटक यस्तो उत्सव आयोजना गरिएको उल्लेख गर्दै आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताईन । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य, नगर प्रमुख सुरेन्द्र थापा घर्ती, थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा, परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष मानसिंह विक, प्रगतिशील लेखक सङ्घका अध्यक्ष श्यामकुमार बुढामगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा साहित्यकार डिबी मगर ‘स्वेद’को गजल सङ्ग्रह ‘सफर’ विमोचनसमेत गरिएको थियो। कार्यक्रम रोल्पा कला साहित्य प्रतिष्ठानका अध्यक्ष जीवन रोकाले सञ्चालन गर्नुभएको थियो।
उत्सवको दोस्रो दिन भव्य सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो। रोल्पाका विभिन्न स्थानीय तहबाट आएका सांस्कृतिक झाँकीहरूले कार्यक्रमलाई अझ आकर्षक बनाएका थिए। प्रगतिशील सांस्कृतिक क्षेत्रमा स्थापित कलाकारहरू—जीवन शर्मा, माधव प्रधान, उदय श्रेष्ठ, मधु गुरुङ, कर्णबहादुर गौतम, भीम कुमाखी, डम्बर रोकाय, बिहानी बिक, चिरन पुन, हेमराज आश्रम, केशरी घर्ती, वीरप्रसाद भन्सारी, मोहित श्रेष्ठ, कुलानन्द गिरी, निलिमा पुन, शान्ती कठायतलगायत तीन दर्जनभन्दा बढी कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। यस अवसरमा भीम कुमाखीद्वारा लिखित ‘युगका आवाज’ पुस्तकको समेत विमोचन गरिएको थियो।
उत्सवले नौ बुँदे ‘थवाङ घोषणा पत्र’ जारी गर्दै प्रगतिशील सङ्गीतको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरणका लागि साझा प्रतिबद्धता व्यक्त गरेको छ।थवाङ गाउँपालिकाको मुख्य प्रायोजन, रोल्पाका सबै स्थानीय तहहरूको सहप्रायोजन तथा रोल्पा कला साहित्य प्रतिष्ठानको स्थानीय व्यवस्थापनमा सम्पन्न उक्त उत्सवले प्रगतिशील सांस्कृतिक आन्दोलनलाई नयाँ ऊर्जा दिएको आयोजकले जनाएको छ।