Butwal Today

देउवा दम्पतीविरुद्ध रेड नोटिस ‘ब्रेक’ इन्टरपोलद्वारा थप प्रमाण माग

२३ बैशाख २०८३, बुधबार
अ+
अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणाविरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रियामा अवरोध देखिएको छ। इन्टरपोलले आवश्यक मापदण्ड नपुगेको संकेत गर्दै नेपालसँग थप प्रमाण माग गरेको हो।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित इन्टरपोल शाखाले फ्रान्सको लियोनस्थित इन्टरपोल महासचिवालयमा रेड नोटिस जारी गर्न अनुरोध गरेको थियो। तर इन्टरपोल सचिवालयले सो निवेदनमा थप विवरण आवश्यक रहेको जनाउँदै इमेलमार्फत जवाफ पठाएको उच्च प्रहरी स्रोतले जनाएको छ।

प्रहरी स्रोतका अनुसार इन्टरपोलले रेड नोटिस जारी गर्न आवश्यक मापदण्डबारे स्मरण गराउँदै ७ बुँदामा थप प्रमाण माग गरेको छ। “हामीले पठाएको पत्र फिर्ता आएको होइन, तर आवश्यक प्रमाण अपुग देखिएको छ,” स्रोतले भन्यो, “इमेलको प्रकृति हेर्दा तत्काल रेड नोटिस जारी हुने सम्भावना न्यून देखिन्छ।”
रेड नोटिस जारी गर्न इन्टरपोलका आफ्नै कडा मापदण्ड रहेका छन्। सम्बन्धित अपराधको प्रकृति, प्रमाणको बलियो आधार, अदालतको आदेश, र सम्बन्धित देशहरूको कानुनी व्यवस्था सबैलाई ध्यानमा राखेर मात्रै नोटिस जारी हुने प्रहरी अधिकारीहरू बताउँछन्।

हाल विश्वका १९६ देश इन्टरपोलका सदस्य छन्। सदस्य राष्ट्रहरूले विभिन्न आठ प्रकारका नोटिस जारी गर्न अनुरोध गर्न सक्ने व्यवस्था छ। तर कुनै पनि नोटिस जारी भएपछि पनि सम्बन्धित देशले आफ्नो कानुनअनुसार मात्र पक्राउ वा सहयोग गर्ने निर्णय गर्न सक्छ। देउवा दम्पती हाल हङकङमा रहेको सूचना सार्वजनिक भएको छ। यसअघि उनीहरू उपचारका लागि सिंगापुर गएका थिए भने आरजु राणा भारतबाट त्यहीँ पुगेकी थिइन्।

यसैबीच, भदौ २३–२४ मा भएको आन्दोलनका क्रममा आफ्नै निवासमा कुटपिटमा परेका देउवा घाइते भएका थिए। सोही घटनापछि उनको घरमा आगलागी हुँदा नगद तथा सम्पत्तिसम्बन्धी सामग्री सार्वजनिक भएको थियो। त्यसयता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएकोमा बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि प्रक्रिया थप तीव्र बनाइएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?