© 2026
बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समिति रुपन्देहीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
समितिका संयोजक खड्ग बहादुर पौडेलका अनुसार वैशाख २४ गते बिहीबार बुटवलमा बृहत् जन प्रदर्शन गरिनेछ । प्रदर्शनका दिउँसो २ राजमार्ग चौराहाबाट सुरु हुने र्याली मिलनचोक–अस्पताल लाइन हुँदै ट्राफिक चोकसम्म पुगेर कोणसभामा परिणत हुनेछ । त्यसपछि जिल्लाका स्थानीय तह तथा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइने कार्यक्रम रहेको उनले जानकारी दिए ।
संयोजक पौडेलले सरकारको पछिल्लो कदमप्रति आपत्ति जनाउदै आवश्यक तयारी र संवादबिना सुकुम्बासीलाई विस्थापित गर्न खोजिएको आरोप लगाए । उनले विगतमा नापजाँच भइसकेका जग्गाको लालपुर्जा तत्काल उपलब्ध गराउन माग गर्दै राज्यले ‘डोजर आतंक’ मच्चाएको भन्दै सरकारलाई सचेतपूर्वक कानुनबाट समस्या समाधान खोज्न चेतावनी दिएका छन ।
उनले सरकारसँग आफूहरू करको दायरामा आउन तयार रहेको उल्लेख गर्दै उचित विकल्पबिना हटाउन खोजिए आन्दोलन थप चर्काउने चेतावनी दिए । संविधानअनुसार मानव अधिकारको सम्मान गर्दै विकल्पसहित समाधान दिन सरकारसँग माग गरिएको छ ।
प्रदर्शनमा बुटवलसहित देवदह, तिलोत्तमा, सियारी र शुद्धोधनलगायत रुपन्देहिका सबै स्थानिय तहबाट २० हजारभन्दा बढी सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सहभागी हुने र सरकारको डोजर अंतक प्रति खवरदारी गर्ने तयारी गरेको समितिले जनाएको छ ।