Butwal Today

बिपी राजमार्गमा आवागमन बन्द

२१ बैशाख २०८३, सोमबार
अ+
अ-
काभ्रेपलाञ्चोक । वर्षाका कारण बिपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले सोमबार साँझदेखि आवागमन बन्द गराएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्ग अन्तर्गत काभे्रपलाञ्चोकको नमोबुद्ध नगरको कटुञ्जेस्थित चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म सडकखण्डमा आवागमन बन्द गराएको हो ।
वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने उद्देश्यले आज साँझ ५ः०० बजेदेखि आवागमन बन्द गराइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । सूचना अधिकारी विष्टका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न सडक यात्रीलाई अपिल गरिएको छ । वर्षाका कारण पटक पटक रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुँदै आएको थियो ।
यसअघि यही वैशाख दोस्रो साता पनि रोशी खोलाको बाढीले उक्त स्थानमा सडक अवरुद्ध बनाउँदा बिपी राजमार्ग दुई दिनपछि खुलेको थियो । कार्यालयका अनुसार सोही वर्षाले राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा करिब चार किलोमिटर डाइभर्सन बगाएको थियो । गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानमा सडक  बगाएपछि पुनःअस्थायी डाइभर्सन निर्माण गरिएको थियो । गत वर्षको बाढीपहिरोले रागमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो ।
हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको कार्यालयले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेशमार्ग धुलिखेल तथा काभ्रेभञ्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?