© 2026
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएको १२ दिन बितिसक्दा पनि बालेन शाह नेतृत्वको सरकारले अझै नयाँ गृहमन्त्री नियुक्त गर्न सकेको छैन। परिणामस्वरूप देशको अत्यन्त संवेदनशील गृह मन्त्रालय अहिले अनौठो तरिकाले सञ्चालन भइरहेको छ। राजीनामाको कारण सम्पत्ति विवरणमा सेयर लुकाएको विवाद र व्यवसायी दीपक भट्टको कम्पनीमा सेयर देखिएको आरोप बनेको थियो। विवादपछि गुरुङले “पदभन्दा ठूलो नैतिकता हो” भन्दै पद त्यागेका थिए।
तर मन्त्री बाहिरिए पनि मन्त्रालय भने खाली छैन—पूरै जिम्मेवारी प्रधानमन्त्री शाहकै नियन्त्रणमा रहेको बताइएको छ। शान्ति सुरक्षा, अपराध अनुसन्धानदेखि संवेदनशील प्रशासनिक कामसम्म अब सिधै प्रधानमन्त्रीको निर्देशनमा अघि बढिरहेको छ। झनै चकित पार्ने कुरा त , पूर्वमन्त्री गुरुङका स्वकीय सचिव जेम्स कार्की अझै मन्त्रालयभित्र सक्रिय रूपमा काम गरिरहेका छन्। उनी सुकुमवासी बस्ती हटाउने अभियानमा स्वयं उपस्थित भएको दृश्यसमेत सार्वजनिक भएको छ।
यसबीच मन्त्रालय स्रोतका अनुसार सबै प्रमुख निर्णय प्रधानमन्त्रीको निर्देशन र स्वकीय संरचनामार्फत भइरहेको छ, जसले शासन संरचनामाथि प्रश्न उठाएको छ। गृह मन्त्रालय मन्त्रीविहीन तर सक्रिय अवस्थामा रहँदा राजनीतिक वृत्तमा अर्को ठूलो चर्चा सुरु भएको छ—के यो अस्थायी व्यवस्थापन हो कि फेरि गुरुङको पुनः आगमनको संकेत ।