© 2026
नवलपरासी ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व तथा पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको जन्म घर संरक्षणको अभावले खण्डहरमा परिणत हुने अवस्थामा पुगेको छ । पुरातत्त्व विभागको उदासीनताका कारण ऐतिहासिक महत्त्व बोकेको उक्त घर वर्षौँदेखि जीर्णोद्धारको प्रतीक्षामा रहेको छ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका–३ मा मालपोत कार्यालय परिसरभित्र रहेको आचार्यको जन्म घर समयमै संरक्षण नहुँदा दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । नेपालको पहिलो राजनीतिक दल नेपाल प्रजा परिषद्का अध्यक्षसमेत रहेका आचार्य राणा शासनविरुद्धको आन्दोलनमा अग्रपङ्क्तिमा रहेर नेतृत्व गरेका व्यक्तित्व हुन् ।
तत्कालीन राजा महेन्द्रको शासनकालमा वि.सं. २०१२ फागुन १५ देखि २०१३ माघसम्म प्रधानमन्त्री बनेका आचार्यलाई प्रजातान्त्रिक आन्दोलनका सूत्रधारका रूपमा पनि स्मरण गरिन्छ । उनको जन्म घरलाई पुरातात्त्विक सम्पदाका रूपमा संरक्षण गरी सङ्ग्रहालयमा रूपान्तरण गर्ने योजना बने पनि कार्यान्वयन हुन भने सकेको छैन ।
लुम्बिनी प्रदेश सरकारले उक्त घरको संरक्षणका लागि दुई पटक गरी ५०/५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, पुरातत्त्व विभागले जीर्णोद्धारमा रोक लगाएपछि बजेट कार्यान्वयन हुन नसकी फ्रिज भएको लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवालले जानकारी दिए ।
यस विषयमा जानकारी लिँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बजेट कार्यान्वयन नहुनुको कारणबारे आफू अनभिज्ञ रहेको बताए । उनले भने, “त्यतिखेर के कारणले काम अघि बढ्न सकेन, स्पष्ट छैन । अहिले सङ्घ सरकारले प्रतिष्ठानजस्ता विषयमा लगानी नगर्ने नीति लिएको छ ।”
रामग्राम नगरपालिका, प्रदेश सरकार तथा सरोकारवाला निकायको पहल हुँदाहुँदै पनि पुरातत्त्व विभागको निष्क्रियताका कारण ऐतिहासिक धरोहर जोखिममा परेको स्थानीयको गुनासो छ । स्थानीय रामप्रसाद आचार्यका अनुसार, “तत्कालीन समयमा पाल्हीनन्दनमा मालपोत कार्यालय थियो । टङ्कप्रसाद आचार्यका बुवा त्यहीँ काम गर्नुहुन्थ्यो र यहाँबाट घोडा चढेर जानुहुन्थ्यो भन्ने हामीले सुनेका हौँ ।”
नेपालमा प्रजातन्त्र स्थापनादेखि पुनर्स्थापनासम्म महत्त्वपूर्ण योगदान दिएका टङ्कप्रसाद आचार्यको स्मृतिसँग जोडिएको यो घर संरक्षण गर्नु राज्यको दायित्व भएको स्थानीयको भनाइ छ । समयमै संरक्षण नगरे ऐतिहासिक महत्त्व बोकेको यो धरोहर पूर्ण रूपमा नष्ट हुने खतरा बढ्दै गएको छ ।