© 2026
कतार ।
परिवारको सपना बोकेर करिब १४ महिना अघि २ लाख ५० हजार रुपैयाँ तिरेर ओभरसिजमार्फत कतार आएकी सरु (परिवर्तित नाम) अहिले गम्भीर स्वास्थ्य सङ्कटसँग जुधिरहेकी छन् ।
रोजगारीको आशामा कतार पुगेकी उनी सुरुबाटै कम्पनीको लापरबाही र श्रम शोषणको सिकार बनिन् । कतारस्थित एक क्लिनिक कम्पनीमा कार्यरत उनले नियमित काम, समयमै तलब र आधारभूत सुविधा नपाएको गुनासो गरेकी छन् । बिहानदेखि बेलुकासम्म काम गराउँदा समेत खानाको समय नदिइने, घाममा घण्टौँ गाडी कुर्नुपर्ने, तर तलब समयमा नपाउने अवस्था झेल्नुपरेको बुटवल टुडे सगंको प्रत्यक्ष भेटमा उनी बताउँछिन् ।
करिब ६,७ महिना यस्तो कठिन परिस्थितिमा काम गरेपछि आर्थिक सङ्कट झन् गहिरिँदै गयो । सँगै आएका कतिपय साथीहरूले पैसा तिरेर कम्पनी छोडे, कोही नेपाल फर्किए भने कोही अन्यत्र काममा लागे । तर उनीसगं भने न धन, न चिनजानको मान्छे, न वैकल्पिक रोजगारी यस्तो अवस्थामै उनी एक्लिइन् । त्यसमाथि उनको आइडीको म्याद सकियो र उनी झनै बिरामी परिन् ।
छातीमा असह्य पीडा हुँदा पनि उपचारका लागि पैसा नहुँदा उनले निकै दुःख भोग्नुपर्यो । प्राइभेट अस्पताल महँगो, सरकारी अस्पतालका लागि हेल्थ कार्ड नभएकाले उपचारमा ढिलाइ भयो । यही क्रममा एक परिचित दिदीको सहयोगमा केही रकम जुटाएर औषधि किन्न सके पनि उनको लागि पर्याप्त भने हुन सकेन ।
धेरै प्रयासपछि कम्पनीबाट आवश्यक कागजात लिएर तिन सय कतारी रियल तिरेर हेल्थ कार्ड बनाइन् । त्यसपछि साथीहरूको सहयोगमा ३ हजार रियल ऋण लिएर आइडी नवीकरण पनि गरिन् । उपचार सुरु भएपछि गरिएको विभिन्न परीक्षणले उनलाई स्तन क्यान्सर (चौथो चरण) भएको पुष्टि भयो ।
“यो खबर सुन्दा म आकाशबाट खसेजस्तै भएँ,” उनले भावुक हुँदै भनिन् । “सुरुमै उपचार गर्न पाएको भए यस्तो नहुन पनि सक्थ्यो उनी भन्छिन् । हाल उनी कतारको सरकारी रुमालिया अस्पतालमा उपचाररत छन् । चिकित्सकको सल्लाह अनुसार ६ पटक किमो थेरापी गर्नुपर्नेमा उनले एक चरण पूरा गरिसकेकी छन् । बाँकी पाँच चरणका लागि करिब चार महिना लाग्ने बताइएको छ ।
उपचारका क्रममा अस्पताल आवतजावत र दैनिक खर्च धान्न गाह्रो भएपछि उनले सहयोगको अपिल गरेकी छन् । “बाँच्न पाए काम गरेर ऋण तिर्छु, नभए सहयोग गरेर नेपाल फर्काइदिनुहोस्,” उनले भनिन् ।
ललितपुर घर भएकी उनका श्रीमान् गाउँमै अधिया खेती गर्दै आएका छन् भने उनका दुई सन्तान छन्। अहिले उनी उपचार र जीविकोपार्जनका लागि सहयोगको प्रतीक्षामा छिन् ।