© 2026
काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली हुँदा देशका विभिन्न क्षेत्रमा आज वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज सबैभन्दा बढी वर्षा प्युठानको हंसपुरमा पछिल्लो १२ घण्टामै १०४।४ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो । २४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षा भएमा धेरै भारी वर्षामा गणना गर्ने गरिएको छ । आजै अन्य विभिन्न जिल्लामा भारी वर्षा भएको छ । विभागमा अभिलेख भएअनुसार कास्कीमा ८०, म्याग्दीमा ७८, तनहुँमा ७०, कपिलवस्तुमा ५०।८, चितवनमा ५४।६, सङ्खुवासभामा ५१।४ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो । अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।
हाल देशभर अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित मध्यमसम्मको वर्षा अहिले पनि जारी छ ।
भोलि पनि बदली कायम रहने तर विस्तारै कम हुँदै जाने बताइएको छ । बिहीबार देशभर साधारणतया बादल लाग्ने कोशी र मधेस प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको विभागका मौसमविद् सञ्जिल अधिकारीले जानकारी दिए।