Butwal Today

पोखरामा महिला गोल्डकप फुटबल हुने

१६ बैशाख २०८३, बुधबार
अ+
अ-

कास्की । पोखरामा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएका छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा यही वैशाख १८ गते शुक्रबारदेखि २० गतेसम्म पोखरा रङ्गशालामा प्रतियोगिता हुने भएको हो ।

क्लबका अध्यक्ष रमेश कार्कीले गोल्डकपमा आयोजक आरएस पोखरा फुटबलसहित, नेपाल पुलिस क्लब, सङ्कटा क्लब र त्रिभुवन आर्मी क्लबसहित चार टोलीको सहभागिता रहने जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र नेपाल पुलिस क्लब भिड्नेछन् । शनिबार सङ्कटा र त्रिभुवन आर्मी क्लब भिड्नेछन् भने आइतबार फाइनल खेल हुनेछ ।

महिला फुटबलको विकासका लागि स्थापित आरएसले पोखरामा पहिलो पटक फुटबल प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष कार्कीले बताए । उनले भने, “‘पछिल्लो समय महिला फुटबलको लोकप्रियताले उचाइ लिइरहेको छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको खेल र ती खेलमा दर्शकहरूको उपस्थितिले पनि यसलाई प्रस्ट पार्छ । त्यसैले अब महिला फुटबलको प्रवर्द्धन तथा विकास गर्नुपर्छ भनेर प्रतियोगिता गर्दछौँ ।”

प्रतियोगिताको विजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले रु तीन लाख पुरस्कार, उत्कृष्ट खेलाडीले रु ३० हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान रु १५ हजार प्राप्त गर्नेछन् । अनुशासित टोलीले रु २५ हजार पाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?