Butwal Today

नारायणस्थान मन्दिरमा शुद्ध खानेपानी ट्याङ्की जडान

१२ बैशाख २०८३, शनिबार
अ+
अ-

भैरहवा । भैरहवाको नारायणस्थान मन्दिर परिसरमा अब आउने जो–कोहीलाई शुद्ध चिसो र तातो खानेपानी सजिलै पिउन पाइने भएको छ। हिन्दु जागरण नेपाल, रुपन्देही र राधे परिवारको पहलमा खानेपानीको ट्याङ्की जडान गरिएको हो। ट्याङ्की जडान पश्चात मन्दिरमा आउने भक्तजन तथा आसपासका विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा समितिले गरेको छ ।

वडा नं. ८ का अध्यक्ष राजन जंग राणले भैरहवा जस्तो अत्यधिक गर्मी हुने क्षेत्रमा शुद्ध पिउने पानीको पहुँच विस्तार गर्नु अत्यन्त आवश्यक रहेको बताए। उनले यस्तो कार्यले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै सामाजिक उत्तरदायित्वमा आधारित यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राखे। हिन्दु जागरण नेपाल, रुपन्देहीकी अध्यक्ष माधवी शर्मा वाग्लेले विशेष गरी गर्मी मौसममा शुद्ध पिउने पानीको अभावले थाइराइडलगायत विभिन्न स्वास्थ्य समस्याहरू देखिने गरेको उल्लेख गर्दै स्वास्थ्य सचेतनाका लागि यो अभियान सञ्चालन गरिएको बताइन्। उनले सबैलाई शुद्ध पानी सेवन गरी स्वस्थ जीवनशैली अपनाउन आग्रह गरिन्।

त्यस्तै राधे परिवारकी अध्यक्ष विपना गैतमले पानीलाई “प्राण” सँग तुलना गर्दै शुद्ध पानीको महत्व झनै बढेको बताइन्। उनले मन्दिर जस्तो सार्वजनिक स्थलमा गरिएको यस्तो व्यवस्थाले धार्मिक तथा सामाजिक दुवै पक्षलाई समेटेको धारणा व्यक्त गरिन्। हिन्दु जागरण रुपन्देहीकी कोषाध्यक्ष राधा भट्टराईले यस कार्यका लागि विभिन्न दाताहरू तथा समाजसेवी लगायतका व्यक्तिहरूले आर्थिक तथा भौतिक सहयोग पु¥याएको जानकारी दिइन्। उनले सहयोगी सबैप्रति आभार व्यक्त गर्दै उक्त कार्यले सबैलाई सहज हुने बताइन्।

भैरहवा जस्तो गर्मी ठाउँमा मन्दिर आउने भक्तजन र नजिकैको विद्यालयका विद्यार्थीहरूलाई यस सेवाबाट सहजता हुने विश्वास गरिएको छ। यस्ता सामाजिक तथा धार्मिक कार्यहरू अन्य संघसंस्थाहरूले पनि अनुसरण गर्नुपर्ने र दीर्घकालीन रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?