© 2026
बागमती । बाघलगायत वन्यजन्तुबाट हुने क्षतिका घटना घटाउन पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियान सञ्चालन गरेको छ ।
मानव–वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने तथा वन्यजन्तुहरूबाट हुने क्षतिलाई शून्यमा झार्ने लक्ष्यसहित निकुञ्जले यो अभियान सञ्चालन गरेको हो ।
निकुञ्जसँग जोडिएको पर्सा, बारा र मकवानपुरका डिभिजन वन कार्यालयको समन्वयमा समुदाय स्तरमा अभियान सञ्चालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले बताए ।
अभियानअन्तर्गत समुदायको अग्रसरतामा वन्यजन्तुको महत्वबारे चेतना जगाउने, वन्यजन्तुबाट कसरी बच्ने, समस्या परेका बखत कसरी समाधान खोज्नेलगायत छलफल कार्यक्रम जारी छन् ।
बाघका माध्यमबाट पर्यापर्यटन प्रवर्द्धन गर्न सकिनेमा जोड दिँदै उनले जङ्गलमा आगो लगाउने, चोरी सिकारीजस्ता गतिविधिका कारण वन्यजन्तु जङ्गलबाट बाहिर निस्कने गरेकाले त्यस्ता गतिविधि हुन नदिनेतर्फ सबैलाई सचेत गर्न अभियान सञ्चालन गरिएको बताए ।
यसैबिच, निकुञ्ज प्रशासनले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा बाघसहितका वन्यजन्तुबाट पीडित भएकाहरूलाई क्षतिपूर्तिस्वरुप रु। १९ लाख प्रदान गरिएको जनाको छ । वन्यजन्तुबाट सबैभन्दा बढी हानि मकवानपुरमा भएको छ ।
सोही अवधिमा हातहतियार सिकारी तथा वन काठ पात दाउरासम्बन्धी सात वटा मुद्दा दर्ता भएका छन् । हातहतियार सिकारीसम्बन्धी छ वटा र वन काठ पात दाउरासम्बन्धी एउटा मुद्दा दर्ता हुँदा १५ जना पक्राउ परेका छन् ।
त्यसै गरी, निकुञ्जले गिट्टी बालुवा तथा वनपैदावारको सलामी शुल्कबापत रु ६० लाख ५३ हजार २५५ राजस्व सङ्कलन गरेको छ ।