© 2026
कञ्चनपुर । कञ्चनपुरको पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत अत्तरिया–गड्डाचौकी सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
कार्यक्रमअन्तर्गत सडकमा ट्राफिक व्यवस्थापन र यात्रु सुरक्षालाई प्राथमिकता दिँदै विभिन्न संरचनात्मक तथा दृश्यात्मक सुधारका कामहरू अघि बढाइएको छ । सडकका जोखिमयुक्त तथा व्यस्त स्थानमा ट्राफिक साइनबोर्ड राख्ने, डेलिनिएटर पोस्ट जडान गर्ने र सडक पेन्टिङ गर्ने काम भइरहेको छ ।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर हरिसप्रसाद जोशीका अनुसार ठेक्का प्रक्रियामार्फत कार्यक्रम कार्यान्वयन भइरहेको छ ।
“पूर्वाधार निर्माण सेवा प्रालिसँग रु ३१ लाख १२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ”, उनले भने, “सम्झौताअनुसार ५५ वटा ट्राफिक साइनबोर्ड राख्ने कार्यसँगै एक हजार २१९ वटा डेलिनिएटर पोस्ट जडान तथा आवश्यकताअनुसार सडक पेन्टिङको कार्य भइरहेको छ ।”
विशेष गरी रातको समयमा तथा खराब मौसममा सवारी चालकलाई मार्ग स्पष्ट देखाउन डेलिनिएटर पोस्ट र सडक पेन्टिङ अत्यन्त उपयोगी हुने उनको भनाइ रहेको छ ।
त्यस्तै, ट्राफिक साइनबोर्डले सवारी चालकलाई समयमै सूचना दिई दुर्घटना जोखिम घटाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
सडक सुरक्षा कार्यक्रमको मुख्य उद्देश्य तीव्र गतिमा हुने दुर्घटनालाई नियन्त्रण गर्नु, सवारीसाधन सञ्चालनलाई सुरक्षित बनाउनु र यात्रु तथा पैदल यात्रीको ज्यान जोगाउनु रहेको छ ।
यसले सडक प्रयोगकर्तामा ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि गर्नुका साथै अनुशासित सवारी सञ्चालनमा पनि टेवा पु¥याउने विश्वास गरिएको छ ।
पछिल्लो समय पूर्व–पश्चिम राजमार्गका विभिन्न खण्डमा दुर्घटनाका घटना बढ्दै गएका सन्दर्भमा यस्तो कार्यक्रम प्रभावकारी हुने र भौतिक पूर्वाधार सुधारका कामले दीर्घकालीन रूपमा दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।