काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्काल सुधार गर्न निर्देशन दिएको छ ।
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा रोजगार कार्यालयले ३२ वटा औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानमा अनुगमनका क्रममा देखिएका समस्या सुधार्न निर्देशन दिएको हो । रोजगार कार्यालयहरूबाट २७ प्रतिष्ठान र विभागबाट गठन भएका दुई टोलीबाट पाँच प्रतिष्ठानमा अनुगमन गरिएको थियो ।
विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार अनुगमनका क्रममा केही प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकको कार्यान्वयन नभएको, नियमित श्रम अडिट नभएको, सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएको लगायत समस्या पहिचान भएका छन् ।
त्यस्ता प्रतिष्ठानलाई श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ र प्रचलित कानुनको परिपालना गरी तत्काल सुधार गर्न निर्देशन दिइएको उनले बताए ।
श्रम ऐन तथा नियमावली र प्रचलित कानुनको पालना भए नभएको सम्बन्धमा गरिएको अनुगमनका क्रममा विशेष गरी नेपाल सरकारबाट तोकिएको न्यूनतम पारिश्रमिकको कार्यान्वयनको अवस्था, व्यावसायिक सुरक्षा तथा स्वास्थ्यको अवस्था, बाल श्रमको अवस्था, सामाजिक सुरक्षा कोषमा आबद्धताको अवस्था, नियमित श्रम अडिट भए र नभएको अवस्था लगायत विषयमा निरीक्षण भएको विभागले जनाएको छ ।