Butwal Today

वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

८ बैशाख २०८३, मंगलवार
अ+
अ-

काभ्रेपलाञ्चोक ।  यहाँको सरकारी वन क्षेत्रमा ‘जडीबुटी’को प्रचुर सम्भावना रहेको देखिएको छ । हाल यहाँको एक लाख ४० हजार किलोसम्म जडीबुटी सङ्कलन गर्न सकिने डिभिजन वन कार्यालय धुलिखेलको तथ्याङ्कले देखाएको छ ।

वन नियमावलीअनुसार तोकिएका जडीबुटी अनुमति लिएर सङ्कलन गर्न सकिने भए तापनि हालसम्म कसैले चासो नदिँदा बहुमूल्य जडीबुटी खेर गएको हो । कार्यालयको रणनीतिक कार्य योजनाअनुसार सरकारी वन क्षेत्रबाट ३१ प्रकारका जडीबुटी सङ्कलन गर्न सकिने उल्लेख छ ।

यस वर्ष पाँच–औले तीन हजार छ किलो, वन लसुन एक हजार २००, सतुवा एक हजार ६५०, पाखनवेद सात हजार ५००, जटामसी चार हजार ५००, पाषणवेद तीन हजार किलो सङ्कलन गर्न सकिने कार्यालयले छ ।

यसै गरी कुरिलो एक हजार पाँच किलोग्राम, ठुलो ओखती दुई हजार २५०, मजिठो एक हजार ५००, सुगन्धवाल एक हजार ५००, बुहारीझार छ हजार, निमपात तीन हजार किलोग्राम सङ्कलन गर्न सकिने कार्यालयका सूचना अधिकारी वन अधिकृत सरिता लामाले जानकारी दिइन् ।

उनका अनुसार धसिङगरे छ हजार किलोग्राम, तितेपाती दुई हजार ८००, गुर्जो एक हजार ६००, कालीकाठ १५ हजार, बेल तीन हजार, अमला एक हजार ७६०, सिलटीमुर सात हजार ५०० किलो सङ्कलन गर्न सकिनेछ ।

त्यसैगरी कण्ठकारी ८०० किलोग्राम, हर्रो एक हजार २००, बर्रो एक हजार ६००, पिपला १२ हजार, बनकरेला दुई हजार, नुनढिकी एक हजार ७५०, काफल आठ हजार, काउलो ६००, सिस्नु सात हजार दुई, चिराइतो १५ हजार र कुकुरडाइनो दुई हजार किलो सङ्कलन गर्न सकिने छ ।

जिल्लामा ५८४ सामुदायिक वन, ४६० कबुलियति वन, एक धार्मिक वन तथा १२ निजी (दर्ता) वन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?