© 2026
भैरहवा । लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले व्यवसायमा अत्यधिक नाफा लिनु गलत भएको बताएका छन्। सीमा व्यवस्थापन केन्द्रीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भए पनि नेपालमा व्यवसाय गर्ने व्यवसायीहरूले भारतको तुलनामा केही बढी मूल्यमा सामान बिक्री गर्नु स्वाभाविक भए पनि १० गुणा बढी नाफा लिनु उपयुक्त नभएको उनले स्पष्ट पारे।
किराना तथा प्लास्टिक व्यवसायी संघ रुपन्देहीको आयोजनामा नव वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार अनिवार्य गर्नुपर्ने विषयमा पनि समर्थन जनाए। उनले केवल कर संकलन बढाएर मात्र देश विकास नहुने उल्लेख गर्दै विगतका सरकारहरूले केही नगरेको भन्ने धारणा गलत भएको बताए। नारायणघाट–काठमाडौं, बुटवल–भैरहवा, लुम्बिनी क्षेत्र तथा एमसीसी अन्तर्गतका सडक विस्तारका कामहरू सरकारकै प्रयासमा भइरहेको उनले बताए।
मन्त्री पाण्डेयले आफू मन्त्री हुँदा र नहुँदा पनि निरन्तर जनता र व्यवसायीको काममा लागेको उल्लेख गर्दै धेरै काम गर्दा र सबैको फोन उठाउँदा पनि कहिलेकाहीँ आफू ‘घाटामा परेको’ अनुभूति हुने गरेको बताए। काम गर्ने र बोल्ने मानिसभन्दा नबोल्ने र निष्क्रिय व्यक्ति सफल देखिँदा दुःख लाग्ने उनको भनाइ थियो। उनले नयाँ नेतृत्वलाई देश र जनताको हितमा काम गर्न शुभकामना दिँदै उद्योगी व्यवसायीहरूले सुरु गरेको “सफाई अभियान” को प्रशंसा गरे। देशको समृद्धिका लागि आफू सधैं सकारात्मक र खबरदारी गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
यसैगरी, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले १०० रुपैयाँभन्दा बढीको सामानमा अनिवार्य भन्सार लागू गर्ने नियमले स्वदेशी बजार संरक्षण र चोरी पैठारी नियन्त्रणमा सहयोग पुग्ने बताए। उनले संस्थागत रूपमा हुने चोरी पैठारी नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याउँदै आगामी बजेटका लागि व्यवसायीका सुझाव सरकारसम्म पु¥याउने प्रतिबद्धता जनाए। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्य र उद्योग व्यापार संगठनका अध्यक्ष सचिन रोक्काले सीमा क्षेत्रमा भइरहेको अवैध व्यापार नियन्त्रण गर्न सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
उनीहरूले सीमा व्यवस्थापन सुदृढ नगरेसम्म वैध व्यवसायीहरू मारमा पर्ने भन्दै कडाइका साथ निगरानी बढाउनुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा विभिन्न व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।