© 2026
काठमाडौं । नयाँ राजनीतिक समीकरणपछि सरकार सञ्चालनमा देखिएको शैलीले प्रधानमन्त्री बालेन शाह र रवि लामिछाने बीचको सम्बन्धबारे आम जनताले चासो बढाएका छन। प्रारम्भिक सहमति र संकेतहरू हेर्दा दुवैबीच समझदारी कायम रहेको देखिए पनि निर्णय प्रक्रियामा बालेनको प्रभाव बढी देखिएको भन्दै पार्टीभित्रै प्रश्न उठ्न थालेका छन्।
निर्वाचनको समयमा देखिएको आपसी विश्वास र व्यक्तिगत सम्मान अहिले पनि कायम रहेको स्रोतहरू बताउँछन्। सरकार गठनपछि रवि लामिछाने ‘अभिभावकीय भूमिकामा रहँदै सरकारको कामलाई नियालिरहेका छन् भने कार्यकारी निर्णयमा बालेन अग्रसर देखिन्छन्।
सरकार सञ्चालनको प्रारम्भिक चरणमै केही संवेदनशील निर्णयहरूमा बालेन पक्ष हाबी भएको अनुभूति पार्टीभित्र देखिएको छ। मन्त्री नियुक्ति, संसदीय पद बाँडफाँट तथा नीतिगत प्राथमिकतामा प्रधानमन्त्रीको भूमिका निर्णायक बनेको गुनासो नेताहरूले गर्न थालेका छन्। यद्यपि रवि लामिछानेले यसलाई स्वाभाविक रूपमा लिन आग्रह गर्दै सरकारलाई काम गर्न दिने पक्षमा देखिएका छन्।
प्रधानमन्त्री बालेन शाहले महत्वपूर्ण निर्णयअघि रविसँग परामर्श गर्ने गरेको बताइए पनि अन्तिम निर्णय आफैंले गर्ने अभ्यास बढ्दो छ। यसलाई केहीले ‘अग्राधिकारको रूपमा व्याख्या गरेका छन् भने केहीले एकलौटी शैलीको संकेत मानेका छन्।अर्कोतर्फ, मन्त्रालयहरूमा प्रधानमन्त्री सचिवालयको सक्रियता बढेको विषयले पनि चर्चा पाएको छ। केही मन्त्रीहरूले आफ्नो कार्यक्षेत्रमा अनिर्वाचित टोलीको हस्तक्षेप बढेको गुनासो गरेका छन्। तर प्रधानमन्त्री निकट स्रोत भने सरकारको समग्र लक्ष्य पूरा गर्न समन्वय आवश्यक भएको र अलआभर जिम्मेबारी र क्षेत्र प्रधानमन्त्रीको हुने तर्क गर्छन्।
हालको समझदारीअनुसार पार्टी सञ्चालन रवि लामिछाने, सरकार सञ्चालन बालेन शाह र संसदीय व्यवस्थापन अन्य नेताहरूले गर्ने संरचना बनाइएको छ। यही मोडललाई प्रभावकारी बनाउन दुवै पक्षले सार्वजनिक रूपमा एकअर्कालाई समर्थन गरिरहेका छन्। तर, भित्रभित्रै देखिएको असन्तुष्टि र शक्ति सन्तुलनको बहसले आगामी दिनमा यो सम्बन्ध कति सुदृढ रहन्छ भन्ने प्रश्न भने उठिरहेको छ।