© 2026
बुटवल । बुटवलमा पछिल्लो समय बजार क्षेत्रमा सडक पेटीमै जथाभावी व्यापार, ठेला व्यवस्थापनको अभाव तथा रिकन्डिसन मोटरसाइकल जस्ता सामग्री सडक छेउमै राखेर बिक्री गर्ने प्रवृत्ति बढेपछि पैदल यात्रुलाई हिँडडुलमा समस्या हुन थालेको छ। यस अवस्थालाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिकाले बजार व्यवस्थापनका लागि विशेष अभियान सुरु गरी डोजर चलाएको छ।
बुधबार उपमहानगरपालिकाको अगुवाइमा विभिन्न संघ–संस्था, व्यवसायी तथा सरोकारवाला निकायबीच सहमति जुट्दै अव्यवस्थित व्यापार हटाउने निर्णय गरिएको हो। पहिले सर्वसाधारणलाई फुटपाथ व्यापार हटाउन जानकारी दिईएको थियो माइकिङ गरि सूचना जारी गरिसके पछि पनि नमाने पछि आवश्यक कारबाहीका लागी डोजर चलाइएको थियो। यसले शहरको सौन्दर्यमा समेत नकारात्मक असर पारेको छ।
पहिलो चरणमा ठेला र फुटपाथ व्यापार हटाइनेछ भने दोस्रो चरणमा सडकमा छाडा छोडिएका गाई–बस्तुको व्यवस्थापन गरिनेछ। छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रणमा लिन लागिएको हो। स्थानीयवासीहरूले यस कदमलाई सकारात्मक रूपमा लिएका छन्। बुटवल उपमहानगरपालिकाका अनुसार यसले बुटवललाई अझ व्यवस्थित, सुरक्षित र आकर्षक शहर बनाउन सहयोग पुग्नेछ।
समग्रमा, बुटवलमा सुरु भएको यो व्यवस्थापन तथा सुन्दरीकरण अभियान सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य देखिएको छ। प्रभावकारी कार्यान्वयन हुन सके बुटवललाई नमूना शहरको रूपमा विकास गर्न यो अभियान महत्वपूर्ण कदम सावित हुने छ।