© 2026
काठमाडौँ । नयाँ वर्षसँगै काठमाडौँमा आजदेखि वाइफाइ सेवासहितको रात्रि बस सेवा सुरु गरिएको छ । आज रातिदेखि काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने बस सेवा पुल्चोकबाट सुरु गरिएको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले समन्वय र सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेर सेवा प्रारम्भ गरेका हुन।
आज सात वटा बस सञ्चालनमा ल्याइएका छन् । बसमा बस अगाडिको भाग, चालक र यात्रु देखिने गरी चार वटा सिसीटिभी क्यामराबाट निगरानी हुने र नियन्त्रण कक्षबाट त्यसलाई हेर्न सकिने भएकाले गलत क्रियाकलाप गर्ने वा दुव्र्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिन सकिने जनाइएको छ । यात्रुको सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले हरेक बसमा एक जना नगर प्रहरी खटाइएको जनाएको छ ।
सेवा प्रारम्भ गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख डङ्गोलले रात्रिकालीन सेवालाई दिगो बनाउँदै बिहानी सेवालाई प्रारम्भ गर्ने योजना रहेको बताए । “नयाँ वर्ष सुरुआतसँगै महत्त्वपूर्ण निर्णयको कार्यान्वयन भएको छ । विगतको अभ्यासबाट प्राप्त पृष्ठपोषणका आधारमा सेवा दिन्छौँ । हिजोको अभ्यास लगानीको आर्थिक प्रतिफलमा केन्द्रित थियो, आज हामीले आर्थिक प्रतिफलमा होइन, चुस्त र गुणस्तरीय सेवालाई लक्ष्य मानेका छौँ”, उनले भने । कार्यवाहक प्रमुख डङ्गोलले उपत्यकामा रहेका स्थानीय तहबीच समन्वय गरेर लागत सहभागिताको ‘मोडल’ बनाउने र अबको योजना भनेको रात्रि सेवालाई दिगो बनाएर बिहानी सेवालाई प्रारम्भ गर्ने रहेको बताए ।
ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले सेवा सञ्चालनका लागि यहाँका स्थानीय तहबीच एकमत रहेको बताए । उनले भने, “सबैको साझा मतका आधारमा आर्थिक साझेदारिता हुँदा नै सेवा दिगो हुन्छ । यस सेवाबाट धेरै नागरिक लाभान्वित हुने भएकाले म निकै उत्साहित छु ।“चन्द्रागिरि नगरप्रमुख गिरीले थानकोट नाकाबाट दैनिक ५० हजारभन्दा बढी व्यक्ति काठमाडौँ आवतजावत गर्ने भएकाले यस सेवाले सहजता थप्ने बताए । चन्द्रागिरिका पर्यटकीय स्थानहरूमा काठमाडौँबाट जान आउन सजिलो हुने भएपछि यसले आर्थिक र सामाजिक क्रियाकलापमा योगदान गर्ने उनको विश्वास छ ।
बुढानीलकण्ठ नगरप्रमुख अधिकारीले रात्रि बस सेवा सञ्चालनका विषयमा स्थानीयबासी धेरै खुसी रहेकाले यसलाई विकास र विस्तार गर्दै लैजानुपर्ने बताए । हाल साझा यातायातसँगको सहकार्यमो सेवा प्रारम्भ गरिएको र आगामी असार मसान्तसम्म सेवाको लागत साझा यातायातले व्यहार्ने जनाइएको छ । “यस अवधिमा खर्चको विश्लेषण गरेर पालिकाहरूले लागत सहभागिता गर्ने भन्ने छ । यो प्रतिबद्धता महत्त्वपूर्ण छ”, साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेलले भने।
रात्रिकालीन बस सेवा सञ्चालनका लागि गरिएको पूर्वअभ्यासमा बुढानिलकण्ठदेखि बेलुका ८ बजे छुटेको बस १६ मिनेटमा महाराजगञ्ज चोक पुगेको थियो । लगनखेल पुग्दा ८ बजेर ४६ मिनेट भएको थियो । सवारी चापका कारण बसले जमल क्षेत्रमा केही समय रोकिनुपरेको थियो । थानकोटबाट ८ बजे छुटेको बस २१ मिनेटमा कलङ्की चोक र ४५ मिनेटमा एअरपोर्ट पुगेको थियो । बस हरेक रुटका सुरु र अन्तिम बिन्दुबाट गुड्नेछन् अर्थात् दक्षिण रुटमा चल्ने एउटा सवारीसाधन ललितपुरको लगनखेलबाट सुरु भएर पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गङ्गालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ ।
अर्को बस बुढानीलकण्ठबाट गङ्गालाल अस्पताल, महाराजगञ्ज चोक, पानीपोखरी, लाजिम्पाट, जमल,, थापाथली, पुल्चोक हुँदै लगनखेल पुग्नेछ । नयाँ सडक गेट अर्थात् एनएसी अगाडिबाट एउटा बस छुट्ने छ । यसरी तीन वटा बिन्दुबाट बस गुडेपछि हरेक बस बिसौनीमा २० मिनेटको अन्तरमा बस आइ पुग्नेछ । यो सडकको एकतर्फि दूरी १६ किलोमिटर रहेको छ । यसैगरी पूर्वपश्चिम रुटको दूरी २० किलोमिटर छ । यो रुटमा एउटा बस थानकोटदेखि सतुंगल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, भद्रकाली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलका लागि छुट्नेछ । अर्को बस विमानस्थलबाट तीनकुने, मीनभवन, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, रविभवन, कलंकी हुँदै थानकोटतर्फ गुड्नेछ ।
नयाँ सडक गेट अगाडि अर्थात् एनएसीबाट एउटा बस थानकोटतर्फ र अर्को बस विमानस्थलतर्फ छुट्ने छ । यसरी चार वटा विन्दुबाट चार वटा बस छुटेपछि हरेक बस बिसौनीमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुने जनाइएको छ ।