Butwal Today

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक्

१९ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

पाँचथर । 

जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ ।

प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमा क्षेत्रको आवागमनमा रोक लगाएको हो । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्ने उद्देश्यसहित सिमानाका पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए ।

पाँचथरको भारतको सिक्किम र पश्चिम बङ्गाल राज्यसँग करिब ४४ किलोमिटर सीमा जोडिएको भए पनि सिमानाका भने छैन । तर यहाँ दुवैतर्फका बासिन्दा पारिवारिक, व्यापारिक, पर्यटन तथा पशु चौपायाको चरिचरनका लागि सीमा वारपार गर्ने गरेका छन् ।

दुवैतर्फ पारिवारिक सम्बन्ध हुनाले नियमितजसो आवतजावत हुने गर्दछ । प्रशासनले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिकाबमोजिम सिमानाका बन्द गरिएको जनाएको छ ।

नाका बन्द गरिएको अवधिमा पनि सुरक्षा अधिकारीहरूबाट प्रमाणित भएका आकस्मिक स्वास्थ्य सेवा प्रदायक एम्बुलेन्सलगायत सवारीसाधन भने सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सिमानाका नभए पनि चिवाभञ्ज्याङ, फालोटलगायत क्षेत्रबाट सवारीसाधन र मानिस आवागमन हुने गरेका कारण प्रशासन सो कार्यमा रोक लगाएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?