Butwal Today

जेनजी युवासँग विनोद चौधरीको संवाद

१९ माघ २०८२, सोमबार
अ+
अ-

बर्दघाट । 

आगामी फागुन २१ मा हुने आम निर्वाचनको सन्दर्भमा नवलपरासी क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार विनोद चौधरीले सो क्षेत्रका जेनजी युवा प्रतिनिधिहरूसँग भेटघाट तथा छलफल गरेका छन् ।

वेलानिमा भएको भेटघाट तथा अन्तरक्रिया  कार्यक्रममा सुस्ता तथा सरावल क्षेत्रका युवाहरूको उपस्थिति थियो ।

भेटघाट कार्यक्रममा बोल्दै चौधरीले जेनजी युवाहरूलाई देशको भविष्य दृष्टिकोणयुक्त नेतृत्वसँग जोडिएको उल्लेख गर्दै आगामी निर्वाचनमा विकासको स्पष्ट दृष्टिकोण र कार्य योजना भएका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।

उनले भने, “भविष्यमा देश युवा पुस्ताले नै चलाउने हो । आजको युवा पुस्ता शिक्षित छ । चुनावमा विकासको दृष्टिकोण भएका उम्मेदवार चयन हुनुपर्छ भन्ने मेरो मान्यता हो । यसलाई सम्भव बनाउने जिम्मेवारी जेनजी युवाहरू र आम नेपाली मतदाताको हो ।”

जेनजी आन्दोलनका नाममा केही बाह्य तत्त्वहरू प्रवेश गरी निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी हुनु दुःखद भएको उल्लेख गर्दै चौधरीले वास्तविक जेनजी युवाहरूका माग—सुशासन, भ्रष्टाचारको अन्त्य र देशमै रोजगारीका अवसर सृजना—गगन थापाको नेतृत्वमा रहेको नयाँ काँग्रेसले पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य विश्व प्रेम पाठकले पनि धारणा राख्दै भने, “पाँच वर्षमा ३२ महिना मात्र काम गर्ने अवसर पाइयो । विनोद चौधरीजस्तो सक्षम व्यक्तित्वलाई ३२ महिना होइन, कम्तीमा १५ वर्ष काम गर्ने अवसर दिए क्षेत्रको विकास सम्भव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?