Butwal Today

दाङ क्षेत्र नम्बर १: नयाँ लहर कि पुरानो पकड ?

१९ माघ २०८२, सोमबार
अ+
अ-

लमही  ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ को चुनावी माहौल यस पटक आङ्कलन गर्न नसक्ने बनेको छ ।

परम्परागत प्रतिस्पर्धालाई तोड्दै यहाँ चार प्रमुख राजनीतिक शक्तिबिच कडा भिडन्त देखिएको छ । नेपाली काँग्रेसका योगेन्द्र चौधरी, नेकपा एमालेका रेवतीरमण शर्मा, नेकपाका पूर्व शहरी विकास मन्त्री मेटमणि चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकबिच हुने यो चौ पक्षीय सङ्घर्षले दाङ–१ लाई चासोको केन्द्रमा राखेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कसले बाजी मार्ला भन्ने चासो चोक र गल्लीहरूमा हुन थालेको छ ।

यो क्षेत्र ऐतिहासिक रूपमा नेपाली काँग्रेसको बलियो गढ मानिँदै आएको क्षेत्र हो । स्वर्गीय खुमबहादुर खड्काको गृह जिल्ला भएकाले पनि काँग्रेसको सङ्गठनात्मक जरा यहाँ गहिरो छ । यही विरासत जोगाउने जिम्मेवारी अहिले काँग्रेस उम्मेदवार योगेन्द्र चौधरीको काँधमा आएको छ । तर, परिस्थिति यस पटक सजिलो छैन ।

२०७९ सालको स्थानीय तह निर्वाचन हेर्ने हो भने दाङ–१ भित्रका चार पालिकामध्ये दुई वटा तत्कालीन नेकपा माओवादी केन्द्र र दुई वटा नेपाली काँग्रेसले जितेका थिए । यसले शक्ति सन्तुलन बराबरी जस्तै देखाए पनि पछिल्ला दिनमा राजनीतिक हावा फेरिएको सङ्केत मतदाताबाटै देखिन थालेको छ ।

थारु समुदायको बाहुल्य रहेको यस क्षेत्रमा थारु उम्मेदवार धेरै भएकाले थारु मत विभाजन हुने सम्भावना रहेको स्थानीयको बुझाइ छ । स्थानीयका अनुसार यसले गैर थारु उम्मेदवारलाई फाइदा पुग्न सक्छ । सङ्गठनात्मक हिसाबले नेपाली काँग्रेस र एमाले यस क्षेत्रमा बलिया मानिन्छन् भने नेकपा पनि बलियो मानिन्छ ।

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकलाई पनि मतदाताले चासोका साथ हेरिरहेका छन् । उता, नेकपा एमालेका उम्मेदवार रेवतीरमण शर्मा त्यागी र सादगी नेताको छविका कारण परिचित छन् । लामो राजनीतिक अनुभव र स्थिर छविले उनलाई भरोसायोग्य उम्मेदवारको रूपमा उभ्याएको छ ।

नेकपाका मेटमणि चौधरी भने सङ्घीय मन्त्रीको अनुभव बोकेका प्रभावशाली अनुहार हुन्, जसले सङ्गठन र पहुँचका आधारमा कडा टक्कर दिने अनुमान गरिएको छ । यद्यपि चौधरीले गत निर्वाचन गरेका प्रतिबद्धता भने पूरा नभएको मतदाताको गुनासो छ ।

दाङ क्षेत्र नं. १ मा २२ वटा नेपाल –भारत सिमा पर्दछन् । सीमा क्षेत्रमा अहिले पनि नेपाली दोस्रो नागरिकको रूपमा बाच्न बाध्य छन् । सडक, खानेपानी, स्वास्थ्य सेवाको पहुँच नहुँदा भारतको परनिर्भरतामा बाँच्दै आएका छन् । उनीहरूका लागि संसद्को अनुहार निर्वाचनमा देख्न नपाउने, जितेर गएपछि फर्किएर नआएको बताउँछन् ।

खाङ्ग्रा नाका निवासी प्रकाश वली भन्छन्–“मेटमणि केवल भाषण गर्ने काम नगर्ने नेता हुन् । सबै फुसका छाना हटाउने नारा लगाए, अहिले पनि फुसको छानामा छौ, खानेपानीको अभावमा खोलाको पानी खानुपर्छ, सडकको अवस्था प्रदेश सरकारले ट्याक खोले पनि ग्राभेल पनि हुन सकेको छैन ।” अस्पताल नहुँदा अझै पनि भारतकै भर पर्नुपर्ने अवस्था रहेको उनको दुखेसोको छ । कतिपयले यस पटक नयाँ अनुहार हेर्ने बताउँदै आएका छन् । लमही नगरपालिका–५ का ७० बर्सिया चेतकान्त खनालले यस पटक भोट बदल्ने सोचमा रहेको बताए ।

यसैबिच, स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रिएका लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री पनि चर्चामा छन् । आफ्नो कार्यकालमा प्रदेश राजधानी देउखुरी सारेर यस क्षेत्रलाई प्रत्यक्ष लाभ दिलाएको दाबी गर्दै उनले उल्लेख्य मत ल्याउने आत्मविश्वास देखाएका छन् ।

हाल सबै उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो र छलफलमा व्यस्त देखिएका छन् । तर, अहिलेसम्म कसैले पनि औपचारिक रूपमा चुनावी घोषणापत्र सार्वजनिक गरेका छैनन् । परम्परागत किल्ला, नयाँ राजनीतिक लहर, अनुभवी अनुहार र परिवर्तनको चाहना, यी सबैको सङ्गम बनेको दाङ–१ मा यो निर्वाचन केवल उम्मेदवारको होइन, राजनीतिक प्रवृत्तिको पनि परीक्षा बनेको छ ।

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ एमाले यस क्षेत्रमा पहिलो दल बनेको थियो । एमालेले १७ हजार ९ सय ३९ मत प्राप्त गर्दा काँग्रेसले १५ हजार ६६ मत ल्याएको थियो । तत्कालीन माओवादीले ११ हजार ४ सय ५२ मत र रास्वपाले ११ हजार ४ सय १० मत प्राप्त गरेको थियो । यस क्षेत्रमा ५ हजार २६८ मत बढेको छ ।

यो निर्वाचन क्षेत्रमा लमही नगरपालिका, गढवा, राजपुर, राप्ती गाउँपालिका सहित घोराही उपमहानगर पालिकाका १, २, ३ र ५ वडा रहेका छन् । निर्वाचन कार्यालय दाङका अनुसार यश क्षेत्रमा १ लाख ४० हजार १ मतदाता रहेका छन् ।

थारु जातिको बाहुल्यता रहेको सो क्षेत्रमा अधिकांशले मेटमणि र योगेन्द्र बिचको प्रतिस्पर्धामा शर्मा र पाठकलाई पनि बलियो उम्मेदवारको रूपमा हेरिएको छ । मेटमणि निवर्तमान प्रतिनिधि सभा सदस्य, योगेन्द्र संविधान सभा सदस्री , शर्मा निवर्तमान प्रदेश सभा सदस्य र पाठक स्थानीय तहको निर्वाचनमा लमही नगरपालिका मेयरको उम्मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?