© 2026
अर्घाखाँची । अर्घाखाँचीका २५ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित गरी २५ मतदानस्थललाई अति संबेदनसिल सूचीमा राखिएको हो।
जिल्लामा रहेका १ सय २ मतदान स्थलमध्ये ३७ वटा संवेदनशील र ४० वटा सामान्य सूचीमा छन्। जिल्ला सुरक्षा समितिले जिल्लाका सबै मतदान स्थलको अवस्था मूल्यांकन गरी सुरक्षाको अवस्था, भौगोलिक बनावट र विगतका गतिविधिलाई आधार मानेर सबै मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराइले जानकारी दिए।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि राजनीतिक दल, उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले प्रतिबद्धता जनाएको उनले बताए।
एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा १ सय २ मतदान स्थलमा यसपटक २ सय ९ मतदान केन्द्र तोकिएका छन्। प्रतिनिधि सभा निर्वाचन २०८२ मा अर्घाखाँचीबाट एक लाख ७१ हजार ६ सय ५२ मतदाता रहेका छन्। विभिन्न १२ राजनीतिक दल र ३ जना स्वतन्त्र गरी १५ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।