Butwal Today

पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात

१० माघ २०८२, शनिबार
अ+
अ-

काठमाण्डाै: पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात भएको छ। यस वर्षको हिउँदमा औसतभन्दा निकै कम वर्षा भएकोमा पश्चिम नेपालमा हिजो बेलुकादेखि वर्षा र हिमपात भएको हो।

सुदूरपश्चिमका पहाडी जिल्लाहरू बझाङ, बाजुरा, डोटी, डडेलधुरा, दार्चुला, बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम वर्षा र हिमपात भएको छ । सुदूरपश्चिम र कर्णालीका तराई क्षेत्रमा पनि वर्षा भएको छ।

पश्चिमबाट नेपाल प्रवेश गरेको वर्षा र हिमपात गराउने प्रणालीले गण्डकीको म्याग्दीसम्म वर्षा गराएको छ भने पूर्वमा हिमाली क्षेत्रमा पनि सामान्य हिमपात भएको छ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार गण्डकीको पश्चिम भूभागसम्म वर्षा गराएको प्रणाली बाग्मती प्रदेशमा आइपुग्दा कमजोर बनेको छ। बदली भने पूर्वी नेपालसम्मै भएको छ। भोलिदेखि देशभर मौसम खुल्ने र मङ्गलवारदेखि फेरि अर्को प्रणाली आउने सम्भावना रहेको उनले बताए।

जुम्लामा तीन वर्षपछि हिमपात भएको छ। पछिल्लो समय लेकाली क्षेत्रमा सामान्य हिमपात भए पनि तल्लो क्षेत्रमा हिमपात भएको थिएन । तर यो पटक जिल्लाभर हिउँ परेको हो।

चार महिना लामो खडेरीले हिउँदे बाली सुक्न लागेका बेला भएको वर्षाले किसानलाई राहत भएको छ। सिँचाइका लागि हिउँदे वर्षाकै भर पर्नुपर्ने उच्च पहाडी तथा हिमाली गाउँमा लगाएको गहुँ, जौ, केराउ, मुसुरोजस्ता हिउँदे बाली सुक्न थालेका बेला पानी परेको हो।

हिमपातले केही ठाउँमा सडक तथा हवाई यातायात र विद्युत् सेवा बन्द भए पनि लामो खडेरीपछि वर्षा र हिमपात हुँदा स्थानीय बासिन्दा खुशी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?