Butwal Today

एमालेको समानुपातिक सूचीमा २१ जिल्लाको प्रतिनिधित्व शून्य, झापाबाट ९ जना

१७ पुष २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं, १७ पुस ।

नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीमा २१ जिल्लाबाट प्रतिनिधित्व शून्य रहेको पाइएको छ ।

निर्वाचन आयोगमा एमालेले बुझाएको बन्दसूची अनुसार ५६ जिल्लाबाट भने प्रतिनिधित्व रहेको छ । प्रतिनिधित्व नपाएका जिल्लाहरूमा मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, गोरखा, बागलुङ, ताप्लेजुङ, तेह्रथुम, रसुवा, मनाङ, नवलपुर (नवलपरासी पूर्व), रूपन्देही, सल्यान, पश्चिम रूकुम, दैलेख, डोल्पा, डोटी, जुम्ला, बाजुरा, बैतडी र डडेल्धुरा रहेका छन् ।

झापाबाट भने ९ जनाको प्रतिनिधित्व रहेको छ ।

झापा ठेगाना भएका उम्मेदवारहरूमा जनजाति तथा महिला कलस्टरबाट अनिता सुब्बा, जनजाति पुरुषबाट विद्यानन्द राजवंशी, खसआर्य महिलाबाट नर्मदादेवी सिवाकोटी, मेकुका काफ्ले र लता प्रसाईं, दलित महिलाबाट निता घतानी, दलित पुरुषबाट जितु दर्जी गौतम र सोम पोर्तेल तथा मधेशी महिलाबाट बिना शाह महतो रहेका छन् ।

समानुपातिक तर्फको बन्दसूची बुझाउने समय यही पुस १३ र १४ गते तोकिएको थियो । एमालेले निर्धारित समयमै बन्दसूची बुझाएको हो ।

एमालेले समानुपातिकतर्फ ११० जनाको नाम सिफारिस गरेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुने निर्वाचन आयोगले जनाएको छ । समानुपातिकतर्फका उम्मेदवारको हकमा भने निर्वाचन आयोगले प्राप्त बन्दसूचीमाथि छानबिन सुरु गरिसकेको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार कानुन बमोजिमको कलस्टर अनुसार दलहरूको बन्दसूचीमा नाम समावेश भए/नभएको विषयमा अध्ययन भइरहेको छ ।

उनका अनुसार आयोगले यही पुस २० गतेसम्म अध्ययन पूरा गर्नेछ । “अध्ययनपछि २० गते नै दलहरूलाई के–के नमिलेको छ भन्ने विषयमा पत्राचार गरिन्छ,” प्रवक्ता भट्टराईले भने, “त्यसपछि दलहरूले संशोधन गरेपछि थप प्रक्रिया अगाडि बढ्छ ।”

कलस्टर मिलाउन आवश्यक परेमा आयोगले सम्बन्धित दलहरूलाई पत्राचार गर्नेछ । त्यस्तो अवस्थामा दलहरूले यही पुस २७ गतेसम्म संशोधन गर्न पाउनेछन् ।

उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई पुस २८ गते समय दिइनेछ । कसैले नाम फिर्ता लिएमा त्यसबारेको जानकारी आयोगले सम्बन्धित दललाई पुस २९ गते दिनेछ ।

नाम फिर्ताका कारण रिक्त भएको स्थानमा सोही समूहको अर्को उम्मेदवारलाई मनोनयन गरी दलहरूले पुस ३० गतेसम्म आयोगमा नामावली पेश गर्नुपर्नेछ ।

त्यसपछि आयोगले उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । आयोगको कार्यतालिका अनुसार आगामी माघ ४ गते उम्मेदवारको बन्दसूची प्रकाशन भएपछि योग्यता सम्बन्धमा दावी–विरोध गर्न सकिनेछ । यसका लागि माघ ५ देखि १० गतेसम्मको समय तोकिएको छ ।

माघ ११ देखि १७ गतेसम्म दावी–विरोधका निवेदनमाथि जाँचबुझ गरी आयोगले निर्णय गर्नेछ । आयोगको तालिका अनुसार माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुनेछ ।

आगामी फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?