© 2026
अर्घाखाँची, १७ पुस ।
मधुलेख गाउँ चिटिक्क परेको छ । समथर बारीका पाटा, खेती हुने मलिलो र समथर भूभाग छ । यो गाउँ पाणिनी गाउँपालिका वडा नम्बर ८ मा पर्छ । पहिले साबिक चिदिका गाविसमा पर्ने यो गाउँ हाल पाणिनीमा पर्छ ।
आज भन्दा ६ वर्ष अघि पाणिनी गाउँपालिका वडा नम्बर ८ को मधुलेख गाउँमा झन्डै ७० घरपरिवार बसोबास गर्थे । मुस्किलले मधुलेखको गाउँमा २५ घरपरिवार मात्र बसोबास गर्छन् । यहाँको गाउँबाट बसाइसराइ गर्नुको मुख्य कारण भनेको खानेपानी रहेको मधुलेखका स्थानीय विवेक पन्थीले बताए ।
“म मधुलेख गाउँको एक साधारण नागरिक हुँ । आज २१औँ शताब्दीमा पनि मेरो गाउँका मानिसहरू पिउने पानीको चरम अभाव झेलिरहेका छन् भन्ने कुरा भन्नु अत्यन्त पीडादायक छ । यहाँका मानिसहरू आफ्नो घरबाट टाढा–टाढा डोको र गाग्री बोकेर थोरै पानीको आशामा हिँड्न बाध्य छन् । एक–दुई गाग्री पानी ल्याउन पनि घण्टौँ समय लाग्छ ।”
पाणिनी गाउँपालिकाको केन्द्र दुर्गाफाँटबाट एक घण्टाको पैदल दूरीमा यो समथर चिटिक्क परेको मधुलेख गाउँमा पुग्न सकिन्छ । पहिले चिदिका गाविसमा पर्ने यो गाउँ स्थानीय पालिकाको संरचना अनुसार पाणिनी गाउँपालिकामा पर्छ ।
गाउँमा कच्ची मोटरबाटो पुगेको छ । बिजुली पुगेको छ । तर खानेपानीको अभावले गाउँ रित्तिँदै गएको छ । बसाइसराइ बढेपछि खेतीयोग्य जमिन पनि बाझिँदै गएको छ । पानीकै कारण मानिसहरू धमाधम गाउँ छाडेर तराइ तथा विभिन्न क्षेत्रमा लागि रहेका छन् ।
स्थानीय कृष्ण प्रसाद पन्थीले भने, “निर्वाचनका समयमा सबै नेताहरू आएर पर्याप्त खानेपानी ल्याइदिने चिल्ला कुरा गर्छन् । तर निर्वाचन जितेपछि वास्तै गर्दैनन् ।” “अधिकांश मानिसहरू पानी खान नसकेर हिँडिसके”–उनले भने–“जहिले पनि नेताहरू पालिकामा आउनु भयो । वडामा आउनु भयो । आश्वासन धेरै दिनुभयो तर मधुलेखले पानी खान पाएन ।”
गाउँमा युवाहरू छैनन् । वृद्ध वृद्धा र महिलाहरू मात्र बसोबास गर्छन् । मधुलेखमा मात्र हैन । पाणिनी गाउँपालिकामा पनि पछिल्लो समय बसाइसराई बढ्दो छ ।
२०७५ सालको वैशाखदेखि २०८२ मङ्सिर मसान्त सम्म पाणिनी गाउँपालिकाबाट ८६० घरपरिवार बसाइसराई गरेर गएको नेपाल सरकारको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्याङ्क छ ।
तीव्र बसाइसराइले अर्घाखाँचीमा खेतीयोग्य जमिन बाझिँदै गएको छ । एक दशकमा ७ हजार ३ सय ६२ हेक्टर जमिन बाझिएको छ । खेतीयोग्य जमिन बाझिँदै जाँदा आगामी दिनमा खाद्य सङ्कट निम्तिन सक्छ । बसाइसराइ तीव्र भएपछि खेतीयोग्य जमिन बाझिँदै छन् ।
कृषि विकास कार्यालय, अर्घाखाँचीको तथ्याङ्क अनुसार, ३० वर्षअघि ४५ हजार ७ सय १२ हेक्टर क्षेत्रफलमा खेती हुन्थ्यो । २०७० मा खेतीयोग्य जमिन घटेर २८ हजार ६ सय नौ हेक्टरमा खुम्चिएको थियो ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेका भनाइमा, अहिले २१ हजार २ सय ४७ हेक्टर क्षेत्रफलमा खेती हुन्छ । दशकमै ७ हजार ३ सय ६२ हेक्टर खेतीयोग्य जमिन बाँझो भएको छ ।
नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको व्यक्तिगत घटना दर्ताको तथ्याङ्क अनुसार जिल्लाको बसाइसराइ दर विकराल छ । अर्घाखाँचीबाट पाँच वर्षयता ५ हजार ८२ घरपरिवारले बसाइँ सरेका छन् । अर्थात् एक घरमा ५ जनाको हिसावले औसत निकाल्दा पनि झन्डै २५ हजार मानिसले जिल्ला छाडेका छन् ।
२०६८ को राष्ट्रिय जनगणना अनुसार अर्घाखाँचीको कुल जनसङ्ख्या १ लाख ९७ हजार ६ सय ३२ थियो । २०७८ को राष्ट्रिय जनगणना अनुसार, यहाँको जनसङ्ख्या १ लाख ७७ हजार ८६ रहेको छ । १० वर्षको जनसङ्ख्या हेर्दा २० हजार ५ सय घटेका छन् ।