© 2026
काठमाडौं, १७ पुस ।
जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गर्ने तयारी गरेको छ ।स्रोतका अनुसार, उनीमाथि लगाइएको स्थानहद खोल्ने तयारी अघि बढाइएको हो ।
आयोगले लेखकसँग दुई पटक छुट्टाछुट्टै बयान लिएको थियो । हिजो (बुधबार) साँझ साढे ७ बजेसम्म पनि आयोगले उनीसँग बयान लिएको थियो ।
त्यसअघि गत पुस १४ गते आयोगले सिंहदरबारमा लेखकसँग बयान लिएको थियो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पनि लेखकको बयान सकिएको जानकारी दिएका छन् ।
बयानका काम सकिएसँगै लेखकको स्थानहद फुकाउने तयारीमा आयोग रहेको स्रोतले जानकारी दिएको छ ।
यसअघि सो घटनासँग सम्बन्धित नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौंका तत्कालीन सीडीओ र तत्कालीन गृहसचिवको स्थानहद फुकुवा गरिएको थियो ।