© 2026
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीमा पार्टीको प्रवास नेपाली सम्पर्क विभागलाई १० प्रतिशत हिस्सा दिने निर्णय गरे पनि व्यवहारमा भने एक जनालाई मात्रै समावेश गरेको पाइएको छ ।
पार्टीको प्रवास नेपाली सम्पर्क विभागले पार्टी निर्णय अनुसार १० प्रतिशत प्रतिनिधित्व माग गर्दै समानुपातिक उम्मेदवारका लागि ११ जनाको नाम सिफारिस गरेको थियो ।
प्रवास विभागका सचिव पदमराज पन्थीको हस्ताक्षरसहित पुस १२ गते ती ११ जनाको सूची पार्टी नेतृत्वलाई पठाइएको थियो ।
तर, पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा ती ११ जनामध्ये एक जनाको मात्रै नाम समावेश गरिएको छ । प्रवास विभागले ९ नम्बरमा सिफारिस गरेका किशोर गन्धर्वलाई दलित पुरुष क्लस्टरमा राखिएको छ ।
गन्धर्वको नाम रास्वपाले निर्वाचन आयोगमा बुझाएको सूचीको ७८ नम्बरमा रहेको छ भने दलित पुरुष समूहको ६ नम्बरमा छ । उनी समानुपातिक सांसद बन्नका लागि रास्वपाले समानुपातिकतर्फ १ सयभन्दा बढी सिट जित्नुपर्ने अवस्था रहेको छ ।
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउनुपर्ने आवाज उठाउँदै आएको रास्वपाले पार्टीकै निर्णयअनुसार प्रवास विभागका नामहरू समानुपातिक सूचीमा समावेश नगरेपछि विदेशमा रहेका समर्थकहरू असन्तुष्ट बनेका छन् ।
यस विषयलाई लिएर प्रवासी समर्थकहरूले विरोध जनाउन थालेका छन् ।
