© 2026
काठमान्डौ, २६ मंसिर ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको मिति आगामी वैशाखसम्म सरे पनि स्वाभाविक रूपमा स्वीकार्य हुने बताएका छन् ।
सरकारले फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेको छ। तर आवश्यकता परे सो मिति सारेर वैशाखसम्म पुगे पनि त्यसलाई स्वीकार गर्नुपर्ने उनले बताए ।
महामन्त्री शर्माले निर्वाचन मिति वैशाखमा सारिँदा स्वाभाविक ठहरिने तीन कारण प्रस्तुत गरेका छन्— जेनजी समुदायलाई अपनत्व महसुस गराउने, विश्वसनीय र सहज चुनावी वातावरण विकास गर्ने तथा हिमाली क्षेत्रमा मतदान सहज बनाउने ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, “जेनजी समूहहरूलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकास गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर वैशाखमा पुग्नुपरे त्यसलाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने हुन्छ । सहमति र सहकार्यमार्फत आगामी यात्रालाई सहज बनाउनु हाम्रो साझा दायित्व हो ।”
उनले जेनजी समुदायसँग सरकारले गरेको सहमतिको स्वागत गर्दै यसको कार्यान्वयनमा निर्वाचन मिति बाधक बन्न नहुने उल्लेख गरेका छन् । तथापि, उक्त सहमतिमा राजनीतिक दलहरूलाई सहभागी नगराइएको भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरे ।
कार्यान्वयनका क्रममा दलहरूसँग समन्वय गरी सरकार गम्भीर रुपमा अघि बढ्नुपर्ने उनको सुझाव छ ।