Butwal Today

संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी

२६ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २६ मंसिर ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको संस्थापन समूहबाट हुने १५औँ महाधिवेशनमा सभापतिमा आफ्नो दाबी रहेको स्पष्ट गरेका छन् । शुक्रबार बिहान काठमाडौँको महाराजगञ्जमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले संस्थापन समूहले यसबारे अहिलेसम्म कुनै निष्कर्ष ननिकालेको बताए ।

डा. महतका अनुसार संस्थापन पक्षले आपसी सहमतिमा एकैजनालाई उम्मेदवार बनाउने प्रयास भइरहेको छ । सभापति शेरबहादुर देउवासँग निकट रहँदै आएको र देशभरका कार्यकर्तासँग आफ्नो गहिरो सम्बन्ध (अट्याचमेन्ट) रहेको उल्लेख गर्दै उनले ती भावनालाई कदर गर्ने उद्देश्यले सभापतिमा दाबी अघि सारेका हुन् ।

उनले भने, “हाम्रो समूहबाट १५औँ महाधिवेशनमा सभापतिमा मेरो दाबी रहन्छ । सभापतिज्यूसँग लामो समय काम गरेको छु । उहाँसँग जोडिएका नेता–कार्यकर्तासँग मेरो गहिरो सम्बन्ध छ । उनीहरूको भावनालाई कदर गर्न मैले सभापतिमा दाबी राखेको हुँ ।”

संस्थापन समूहभित्र कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशांक कोइरालासहित ‘७ भाइ’ भनेर परिचित समूहका नेताहरू सभापतिमा दाबी राखिरहेका छन् ।

अगाडि नआएका डा. महत र विजयकुमार गच्छदारमध्ये डा. महतले पनि दाबी प्रस्तुत गरेपछि संस्थापन पक्षबाट सभापतिमा दाबी गर्नेको संख्या ७ पुगेको छ ।

सभापतिमा संस्थापन पक्षबाट एक नाममा सहमति जुट्ने सम्भावनाबारे प्रश्न सोधिँदा डा. महतले मिलाउने अधिकतम प्रयास हुनेछ भन्ने प्रतिक्रिया दिए । विगतमा टिकट र पद नपाएपछि समूह फुट्ने प्रवृत्तिबारे प्रश्न उठ्दा उनले भने, “केही मात्रामा त भइहाल्छ, तर ८० प्रतिशतभन्दा बढी हामी सँगै रहनेछौँ ।”

इतर समूहका नेता डा. शेखर कोइरालाले संस्थापन पक्षसँग सहकार्य गर्ने प्रयास भएको बाहिर आएको विषयमा पनि डा. महतले टिप्पणी गरे । डा. कोइरालाले आफूलाई सहयोग गर्न संस्थापन पक्षले एप्रोच गरेको स्वीकारे पनि पहिलो चरणमै उनी सभापति बन्ने सम्भावना कम रहेको उनको विश्लेषण छ ।

डा. महतले भने, “पहिलो चरणमै डा। शेखर हुने सम्भावना कमै होला । दोस्रो चरणमा सहमति जुटे सम्भव छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?