Butwal Today

एमालेको सचिवालय बैठक आज बस्दै

२६ मंसिर २०८२, शुक्रबार
अ+
अ-

बुटवल, २६ मंसिर ।

नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ। बैठक आज दिउँसो १ बजे बस्नेगरि बोलाएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

विधान संशोधन र महाधिवेशन प्रतिनिधिको मनोनयन मुख्य एजेन्डा रहेका छन्।

एमालेले विधान संशोधन गरेर पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ। अहिले विधान अनुसार १५ जना पदाधिकारी मात्रै रहने व्यवस्था छ।

भदौ २०-२२ सम्म ललितपुरमा भएको दोस्रो विधान महाविधेशनले १९ जनाको पदाधिकारी घटाएर १५ जनामा सिमित गरेको थियो। यस्तै स्थायी कमिटी नराख्ने, पोलिटब्युरोको संख्या घटाउने र केन्द्रीय समिति समेत ३०१ बाट घटाएर २५१ मा झार्ने निर्णय गरेको थियो।

अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहबाट पदाधिकारीका आकांक्षी धेरै भएपछि विधान संशोधन गरेर व्यवस्थापन गर्न लागेका हुन्।

यता अध्यक्षमा उम्मेदवारी घोषणा गरेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले विधान संशोधनको प्रस्ताव आएमा एमालेले हटाइसकेको २ कार्यकालको प्रावधान ब्युँताउने पर्ने प्रस्ताव लैजाने तयारी गरेको छ।

गत सोमबार नै सचिवालय बैठक राख्ने तयारीमा रहेका ओली पोखरलले अवधारणा पत्र बुझाएपछि रोकिएका थिए। पोखरेल पक्षले सचिवालय बैठकमा अवधराणा पत्रको विषयमा पनि कुरा उठाउने भएपछि उनले बैठक ३ दिनलाई ‘होल्ड’ गरेका थिए।

महाधिवेशनको उद्घाटन शत्रको अघिल्लो दिन मात्रै बैठक बोलाएका हुन्। एमालेको ११ औँ महाधिवेशन आगामी शनिबारदेखि सुरु हुँदै छ।

त्यस्तै बैठकले १०८ जना प्रतिनिधि मनोनयन गर्नेबारे पनि निर्णय लिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?