© २०२३
काठमाडौँ, २५ कात्तिक ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध एमालेबाहेकका सात राजनीतिक दलहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित दलहरूले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । उक्त रिट निवेदनको पेसी बुधबारका लागि तोकिएको छ ।
संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गठन भएको सरकारविरुद्ध दलहरूले यो रिट दर्ता गरेका हुन् ।
रिट लिएर सर्वोच्च अदालत पुग्नेहरूमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, लोसपाका नेता जयलुन राइन लगायत रहेका छन् । उनीहरूलाई रिट तयार गर्न र दर्ता प्रक्रियामा सहयोग गर्न मधेश प्रदेशका पूर्वमुख्यन्यायाधिवक्ता दीपेन्द्र झा पनि उपस्थित थिए ।
गत आइतबार दलहरूलाई जानकारी नदिई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार ठूलो दलको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
सोमबार बिहान बिरामी भएको बहानामा काठमाडौं जाने तयारीमा रहँदै भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस होटलमा नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ ग्रहण गराएकी थिइन् ।
यस घटनाप्रति नेपाली कांग्रेससहितका अन्य दलहरू आक्रोशित बनेका छन् । विवाद तीव्र बनेपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।