© २०२३
काठमान्डौ, १५ कार्तिक ।
विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेका नेताहरूसँग नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधानअनुसारै निर्णय गरिने आश्वासन दिएका छन् ।
शनिबार दिउँसो पार्टी कार्यालयमा दुई घण्टाभन्दा बढी समयसम्म हस्ताक्षर अभियानमा सक्रिय सात जना नेताहरूसँग छलफल गर्दै खड्काले आफू संस्थापक नेता किसुनजी कृष्णप्रसाद भट्टराईको अनुयायी भएको उल्लेख गर्दै, ‘म सधैं विधानको सीमाभित्र रहेर काम गर्छु,’ भन्ने स्पष्ट प्रतिबद्धता जनाए ।
छलफलमा सहभागी नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, रमेश धमला, नारायण भट्टराई, जनकराज गिरी, सुवास पोखरेल र मनोजमणी आचार्य रहेका थिए। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि छलफलमा सहभागी थिए ।
नेताहरूले २,४८८ जना पार्टी प्रतिनिधिको तर्फबाट सङ्कलित हस्ताक्षर औपचारिक रूपमा कार्यवाहक सभापति खड्कालाई बुझाएका थिए। हस्ताक्षर बुझाएपछि खड्काले पहिलोपटक सो समूहलाई छलफलका लागि बोलाएका हुन् ।
‘२४८८ जनाको तर्फबाट हामीले हस्ताक्षर बुझाएका थियौं। उहाँले आज बोलाएर सौहार्दपूर्ण वातावरणमा छलफल गर्नुभयो,’ नेता मनोजमणी आचार्यले जानकारी दिए ।
उनका अनुसार कार्यवाहक सभापति खड्काले पार्टीको विधानको धारा १७ ९२० अनुसार निर्णय लिइने बताएका छन् । ‘उहाँले किसुनजीको उदाहरण दिँदै, म विधानभन्दा बाहिर जान्न भन्ने आश्वासन दिनुभयो। हामी उहाँको भनाइबाट आशावादी भएका छौं,’ आचार्यले भने ।
खड्काले सो क्रममा पार्टीका पदाधिकारी र केन्द्रीय समिति बैठकमा समेत हस्ताक्षर अभियानबारे जानकारी गराइसकेको बताएको स्रोतले जनाएको छ ।