© २०२३
काठमाडौं, २६ असोज ।
प्रधानमन्त्री सुशीला कार्कीले संकटको समयमा सबै राजनीतिक पक्ष एकजुट भई देशलाई अघि बढाउनुपर्नेमा जोड दिएकी छन् ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले अहिलेको संवेदनशील परिस्थितिमा सहकार्य अपरिहार्य रहेको बताएकी हुन् ।
प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष दाहालले आगामी राष्ट्रिय सभा निर्वाचन, सभाको बैठक बोलाउने र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गरेका थिए ।
आगामी २० फागुनमा राष्ट्रिय सभाका एकतिहाइ सदस्यहरूको पदावधि सकिँदैछ । कानुन अनुसार, पदावधि सकिनुभन्दा कम्तीमा ३५ दिनअघि निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधान रहेकाले अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग यस विषयमा परामर्श गरेका हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले निर्वाचनसँगै राष्ट्रिय सभाको बैठक बोलाउने विषयमा पनि छलफल भएको जानकारी दिए । साथै, राष्ट्रिय सभामा प्रस्तुत रहेका विभिन्न विधेयकहरूबारे पनि प्रधानमन्त्रीसँग समन्वय भएको उनले बताए ।
यता, ‘जेन–जी आन्दोलन’ अन्तर्गतको दोस्रो दिनको प्रदर्शनमा भएको आगजनीका कारण बानेश्वरस्थित संघीय संसद् भवन पूर्णरूपमा ध्वस्त भएको छ । यस्तो परिस्थितिमा, सभाको बैठक कहाँ र कहिले बोलाउने भन्ने विषयमा अन्योल कायमै रहेको छ ।