© 2026
काठमाडौं, २४ असोज ।
भेनेजुएलाकी प्रखर लोकतन्त्रवादी तथा विपक्षी नेतृ मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।
नर्वेजियन नोबेल समितिले शुक्रबार ओस्लोमा आयोजित एक समारोहमार्फत पुरस्कारको घोषणा गर्दै माचाडोलाई ‘बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति बलिरहने कार्यमा महत्वपूर्ण भूमिका खेलेको’ भन्दै प्रशंसा गरेको हो ।
समितिले भनेको छ, “मारिया कोरीना माचाडोले भेनेजुएलाका जनताको लोकतान्त्रिक अधिकारको प्रवर्द्धनका लागि निरन्तर संघर्ष गर्दै, तानाशाही शासनबाट न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको अभियान चलाएकी छन् ।”
एक्स (पूर्व ट्विटर) मा गरिएको पोस्टमा नोबेल समितिले माचाडोको तानाशाही शासनको प्रतिरोध गर्दै न्याय, शान्ति र लोकतन्त्रको पक्षमा लडाइँ गरेको उल्लेख गरेको छ ।
नोबेल समितिका अध्यक्षले भने, “स्थायी शान्तिको आधार लोकतन्त्र हो । तर आज हामी यस्तो विश्वमा बाँचिरहेका छौं, जहाँ लोकतान्त्रिक मूल्यहरू पछि हट्दैछन् । अधिनायकवादी शासकहरू सामान्य मान्यताहरूलाई चुनौती दिइरहेका छन् र हिंसाको बाटो रोज्ने क्रम बढ्दो छ ।”
उनले थपे, “हामी संसारभर यस्ता प्रवृत्तिहरू देखिरहेका छौं -कानूनी शासनको दुरुपयोग, स्वतन्त्र सञ्चारमाध्यममाथि प्रतिबन्ध, आलोचकहरूको गिरफ्तारी, र समाजलाई अधिनायकवाद तथा सैन्यकरणतर्फ धकेल्ने प्रयास ।”
मारिया कोरीना माचाडो, भेनेजुएलाकी चर्चित विपक्षी नेतृ हुन् । उनी गएको वर्षको राष्ट्रपति चुनावमा उम्मेदवारी दिनबाट रोकिएकी थिइन् । सो चुनावलाई अन्तर्राष्ट्रिय समुदायले “न स्वतन्त्र, न निष्पक्ष” भन्दै व्यापक रूपमा खारेज गरेको थियो ।
उनी आफ्नो उम्मेदवार एडमुन्डो गोन्जालेजको समर्थनमा देशभर जनमत परिचालनमा सफल भएकी थिइन् । उनले हजारौं नागरिकलाई सडकमा र मतदान केन्द्रसम्म ल्याएकी थिइन्, जसले सत्तारूढ राष्ट्रपति निकोलस माडुरोको सरकारलाई चिन्तित बनाएको थियो । उनी विपक्षीहरूलाई एकताबद्ध गर्ने नेतृको रूपमा उदाएकी थिइन् ।
विगत वर्ष गरिएका मतसर्वेक्षणहरूले माचाडो नेतृत्वको अभियानको जितको प्रबल सम्भावना देखाएका थिए । तर, व्यापक अनियमितता र धाँधलीबीच माडुरो तेस्रो कार्यकालका लागि निर्वाचित घोषित भए ।
चुनाव परिणाम सार्वजनिक भएपछि देशभर विरोध प्रदर्शनहरू भए । ती प्रदर्शनलाई सरकारले बलपूर्वक दबाएको थियो ।
त्यसयता माचाडो लगभग लुकेर जीवन यापन गर्दै आएकी छन् । उनी जनवरीमा माडुरोको पदग्रहणअघि भएको एक विरोध प्रदर्शनमा संक्षिप्त रूपमा देखिएकी थिइन् । त्यसबेला उनलाई अल्पकालीन रूपमा गिरफ्तार गरिएपछि पछि रिहा गरिएको थियो ।