© 2026
काठमाडौं, २४ भदौ ।
सोमबार काठमाडौंमा भएको जेनजीको आन्दोलनका क्रममा गम्भीर घाइते भएका दर्जनौँ प्रदर्शनकारीलाई राष्ट्रिय ट्रमा सेन्टरमा रातभर शल्यक्रिया गरिएको छ ।
मंगलबारसम्म पनि थुप्रै घाइतेहरू ट्रमा सेन्टरमा उपचाररत छन् । सोमबार बेलुकीदेखि मंगलबार बिहानसम्म मात्र १३ जनाको शल्यक्रिया गरिएको छ । तीमध्ये आठजनाको ‘मेजर सर्जरी’ भएको ट्रमा सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डा। बद्री रिजालले जानकारी दिए । उनका अनुसार घाइतेहरू मध्ये धेरैलाई छाती, टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । हाल ६ जना अति गम्भीर अवस्थामा आईसीयूमा उपचाररत छन् ।
झडपका क्रममा सुरुमा सिभिल र एभरेष्ट अस्पतालमा उपचाररत घाइतेहरूलाई थप उपचारका लागि ट्रमा सेन्टर ल्याइएको थियो । तर, त्यहाँ ल्याइएका आठजनाको मृत्यु भइसकेको चिकित्सकहरूले पुष्टि गरेका छन् ।
हालसम्म ३३ जना घाइते ट्रमा सेन्टरमा भर्ना भएर उपचाररत छन् । तीमध्ये धेरैलाई आन्तरिक रक्तश्राव तथा अन्य जटिलता देखिएकाले अहिले नै खतरामुक्त भन्न नसकिने अस्पतालले जनाएको छ ।
घाइतेहरूको गम्भीर अवस्थालाई ध्यानमा राख्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालमा पनि तयारी बढाइएको छ । वीरको सर्जिकल भवनमा आईसीयू आवश्यक पर्न सक्ने अनुमानमा नौ वटा बेड तयारी अवस्थामा राखिएको अस्पतालले जनाएको छ । सोमबारदेखि नै एक वार्ड खाली राखेर ट्रमाबाट गम्भीर बिरामी सिफ्ट गर्न सकिने व्यवस्था मिलाइएको छ ।
सोमबारको आन्दोलनका क्रममा काठमाडौंमा १७ र सुनसरीमा दुई गरी १९ जनाको ज्यान गएको पुष्टि भएको छ ।