© 2026
काठमाडौँ ।
सत्ता साझेदार नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहबाट सरकारमा रहेका मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका छन् ।
हाल चीन भ्रमणमा रहेका कोइरालाले यस्तो निर्देशन दिएको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार उनी स्वयं राजीनामा दिन तयार छन् तर काठमाडौँमा कर्फ्यु लागेका कारण मन्त्रालय पुग्न नसकेको बताए ।
“मैले अरू साथीहरूसँग सल्लाह गरिरहेको छु । मैलेचाहिँ मन बनाईसकेको छु । तर बाहिर निस्कन पाइँदैन । जिम्मेवारीबाट पन्छिन खोजेको होइन, तर यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा छ । राजीनामा दिएर बाटो खुला हुन्छ भने त्यस्तो गर्न पनि तयार छौँ,” अधिकारीले भने।
सोमबार जेन–जीले गरेको विरोध प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जना युवाको ज्यान गएपछि सरकारले व्यापक आलोचना खेपिरहेको छ । त्यही दिन कांग्रेसकै तर्फबाट गृहमन्त्री बनेका रमेश लेखकले पदबाट राजीनामा दिएका थिए ।
शेखर समूहका मन्त्रीमा कृषिमन्त्री रामनाथ अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी रहेका छन् ।
यसैबीच, सत्तारूढ दलभित्रै पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग उठिरहेको छ । तर यसप्रति ओलीले हालसम्म कुनै चासो देखाएका छैनन् ।
जेन–जीले भने आफ्नो आन्दोलनलाई निरन्तरता दिएको छ । आज बिहानैदेखि बानेश्वर क्षेत्रमा पुनः विरोध प्रदर्शन सुरु भएको छ, जहाँ सोमबार मात्रै प्रहरीको गोली लागेर विद्यार्थी सहित १७ जना मारिएका थिए । उपत्यकाबाहिर पनि आन्दोलनकै क्रममा २ जनाको ज्यान गएको प्रहरीको पुष्टि छ ।