© 2026
काठमाडौं, २४ भदौ ।
नेपालमा भ्रष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्धको विरोध गर्दै सडकमा उत्रिएका युवा–विद्यार्थीको हत्या विरुद्ध अमेरिकाका विभिन्न शहरमा रहेका नेपाली समुदायले विशाल प्रदर्शन गरेका छन् ।
हत्या भएका १९ जना विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्न टेक्सास राज्यको डालसमा मात्रै करिब पाँच हजार नेपाली सहभागी भएका छन् ।
डालसको पशुपतिनाथ मन्दिर र बौद्धविहार परिसरमा सोमबार दिउँसोदेखि रातिसम्म नेपाली समुदायले भेला भई श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा सहभागीहरुले मैनबत्ती प्रज्वलन गरी मृतक विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै सरकारी दमनको विरोधमा विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । ‘भ्रष्टाचार रोक’, ‘मानव अधिकारको हनन भयो’, ‘जनता मार्न पाइँदैन’, ‘नेपालका युवाको आवाज सुन्नुपर्छ’, ‘कालो दिन, अस्ताएका सपनाहरू’, ‘रेमिट्यान्स पठाउन बन्द गर’ जस्ता नाराले प्रदर्शनस्थल गुञ्जिएको थियो ।
त्यस्तै, न्यूयोर्कस्थित ज्याक्सन हाइटमा हजारौँ नेपाली सहभागी भएर श्रद्धाञ्जलीसभा गरेका थिए । उनीहरुले ‘युवाहरुसँग नडराऊ, उनीहरुको आवाज सुन्ने’, ‘जेनजी, वी स्ट्यान्ड विथ यु’ जस्ता प्लेकार्ड बोकेर सरकारको दमनकारी कदमको कडा विरोध गरेका थिए ।
मेरिल्यान्ड राज्यको बाल्टिमोरमा पनि हजारौँ नेपाली स्वस्फूर्त रूपमा भेला भई ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ’ जस्ता गीत गाएर तथा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । कार्यक्रममा सहभागीहरुले नेपालको झन्डाको आकृतिमा दीप प्रज्वलन गरी हत्या गरिएका विद्यार्थीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्यस्तै, बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयको प्राङ्गणमा पनि नेपाली समुदायले भेला भई दिवंगत विद्यार्थीप्रति सम्मान प्रकट गरेका छन् ।
अमेरिकाका विभिन्न शहरमा एकसाथ भएका यी प्रदर्शनमार्फत नेपाली समुदायले नेपालमा भइरहेको भ्रष्टाचार, अभिव्यक्ति नियन्त्रण र निर्दोष युवामाथि भएको दमनप्रति गहिरो असन्तोष व्यक्त गर्दै न्यायको माग गरेका छन् ।