Butwal Today

चारसयलाई रोजगारी दिने बुटवलका बुद्धिप्रसादः जसले बैदिक जनै र शास्त्रीय धागोबाट कमाउँछन् लाखौं रुपियाँ

२३ श्रावण २०८२, शुक्रबार
अ+
अ-

बुटवल, २३ साउन ।

बैदिक जनै र शास्त्रीय धागो बेचेर पनि लाखौं कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् राधा धागो उद्योग बुटवलका संचालक बुद्धिप्रसाद शर्मा । आधुनिकता र पश्चिमा शैलीको अनुसरण गर्दै अगाडि बढिरहेको बर्तमान अवस्थामा बुटवलका शर्मा बैदिक जनै, रक्षाबन्धन र शास्त्रिय धागो आदि बेचेर पनि लाखौं कमाउन सफल भएका छन । जनै धागो, रक्षाबन्धन, लाखबत्ती, अनन्त बन्धन लगायतका सामग्री उत्पादन गरेर नेपाल र विदेशमा समेत बजार प्रवद्र्धन गर्न सफल शर्माले बार्षिक ४० लाखसम्म आम्दानी हुने गरेको बताउँछन् ।

बजारमा नक्कली पुजा सामाग्री, जनै धागो, रक्षाबन्धन, अनन्त डोरो, लक्षवत्र्ती लगायतका बैदिक सामग्रीहरुका कारण अस्वस्थ प्रष्तिपर्धा गर्नु परेकोमा चिन्ता ब्यक्त गर्दै शर्माले भने—‘भारतबाट आयात हुने गुणस्तरहीन र नक्कली जनै धागो लगायतका सामग्रीलाई केही हदसम्म भएपनि कम गर्न सफल भएका छौं ।’ बजारमा नक्कली र गुणस्तरहिन जनै धागो, रक्षा बन्धन र बैदिक सामग्रीहरुको बिगबिगी रहेकोले सचेत रहन उनले आग्रह समेत गरे ।

वि.सं २०५७ सालदेखि बैदिक जनै र शास्त्रीय धागो उत्पादन गर्न थालेका शर्माले वार्षिक करिब १ करोड ५० लाखको रक्षाबन्धन र जनै धागोको कारोबार हुने पश्चिम नेपालमा ६० प्रतिशत बजार भाग राधा जनै धागो उद्योगले मात्रै ओगट्न सफल भएको बताउँछन् । शर्मा भन्छन्—‘शुरुमा निकै गाह्रो भयो, भारतीय उत्पादनसित प्रतिष्पर्धा गर्न निकै कठिन भयो, अहिले राम्रो हाम्रो उत्पादनको माग देश बिदेशमा समेत छ ।’

शर्माका अनुसार बिगतमा भारतबाट आयात हुने करोडौं रुपैयाँको जनै धागोलाई बिस्थापित गरी नेपाली जनै धागो उत्पादनमा आत्मनिर्भर बन्ने उद्देश्यका साथ बुटवल ४ स्थित राममन्दिर लाइनमा राधा धागो उद्योग स्थापना भएको हो । भारतबाट आउने जनै र रक्षाबन्धनका साथै नेपाली बजारमा समेत उत्पादन गरिने कतिपय नक्कली जनै र रक्षाबन्धनलाई समेत विस्थापन गर्ने उद्देश्यले बुटवलमा शास्त्रीय र बैदिक जनै धागो उद्योग स्थापना गरिएको शर्माको भनाइ छ ।

यसबाट स्वदेशमै पवित्र जनै धागो र रक्षाबन्धन उत्पादन हुने, रोजगारीको अवसर समेत सिर्जना हुने भएकोले आफू अग्रसर भएको बताउँदै शर्माले भने—‘हाल ४० जनालाई पूर्णकालीन र झण्डै ४ सय जनालाई अल्पकालीन रोजगारी प्रदान गर्न सफल भएका छौं ।’ शर्मा भन्छन—‘बिगतमा वर्सेनि करोडौं रुपैयाँको जनै, रक्षाबन्धन लगायतका धागोजन्य सामग्रीहरु भारतबाट आयात हुने गरेकोमा हाल बुटवलमा उत्पादित बैदिक जनै तथा पवित्र धागोहरु नेपालका अधिकांश स्थानमा पुगेका छन् । स्वदेशमै विधिवत बैदिक एवं शास्त्रीय जनै उत्पादन हुन थालेपछि एकातर्फ वर्सेनि भारत जाने करोडौं रुपैयाँ नेपालमै रोकिएको छ भने यसरी बनाइएको जनै तथा रक्षाबन्धन मिसावट रहित र पवित्र पनि हुन्छ ।’ शर्माका अनुसार नेपालमै उत्पादन गरेर पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनै, रक्षाबन्धन, लक्षबत्र्ती र अन्य पवित्र धागोहरु आपुर्ती गर्ने गरिएको छ ।

२५ बर्षअघि करिब ३० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको राधा धागो उद्योगले यसबर्ष जनै पूर्णिमाको अवसरमा ८० लाख भन्दा बढीको जनै, रक्षाबन्धन लगायतका शास्त्रीय र बैदिक सामाग्री उत्पादन गरी बिक्री वितरण गरेको छ । वि.सं २०७९ मा ४० लाख, २०८० मा ५० लाखको कारोबार भएकोमा ०८१ मा ६० लाखको कारोबार भएकोे शर्माले जानकारी गराए । शर्मा भन्छन—‘यो वर्ष अर्थात ०८२ मा ८० लाखको कारोबार गर्ने लक्ष रहेको छ, हेरौं कति सफल भइन्छ ।’ विदेशमा समेत राधा धागोको माग बढ्दै गैरहेको शर्माको भनाइ छ ।

सो उद्योगले जनै उत्पादनमा आत्मनिर्भर बनाउनुका साथै भारतीय जनैको आयात कम गर्न ठूलो सहयोग गरेको स्थानीय जनै धागो व्यापारी नुरु प्रसाद पाण्डे वताउँछन् । पाण्डे भन्छन्—“पहिले जनै तथा रक्षाबन्धन लगायतका पुजा सामग्रीका रुपमा प्रयोग हुने धागोहरु भारतबाट आउने गर्दथ्यो । अहिले झण्डै ८० प्रतिशत बजार नेपाली उत्पादनले नै धानेको छ ।” पाण्डेका अनुसार आयात क्रमशः घटदै गैरहेकोले नेपाली धागो उद्योगीहरु उत्साहित भएका छन् । अरु उद्योगहरु पनि स्थापना हुने क्रम बढेको छ ।

जनै, सप्तऋषिलाई तर्पण दिई प्रत्येक डोरामा हुने नौ सराका तन्तुदेवताहरु र शिखामा ब्रह्मा, विष्णु, महेश्वर र जगत्जननीको पूजा गरी गायत्री मन्त्रद्वारा मन्त्रित गरिने शास्त्रीय र वैद्धिक जनैका सम्पादनकर्ता समेत रहेका शर्माले बताए । पछिल्लो समय नक्कली जनैको बिगबिगीले बजारमा असर परेको भन्दै बुटवल, भैरहवा, पाल्पा, गुल्मी, अर्घाखाँची लगायत नेपालका विभिन्न भागमा आफ्नो उद्योगले बैद्धिक उत्पादन पठाउने गरेको अर्का व्यवसायी झन्कार पाण्डे बताउँछन् ।

हाल पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्र नभै भारत, बंगलादेश, अमेरिका, जर्मन लगायतका देशमा समेत राधा जनैधागो उद्योगमा उत्पादित सामग्रीहरु पुग्ने गरेको पाण्डेको भनाइ छ । भारतबाट नेपालमा आयात हुने जनैधागो लगायतका पुजा सामग्रीहरु समेत उत्पादन गरी नेपाललाई बैदिक जनै, शास्त्रीय रक्षाबन्धन, लक्षबत्र्ती लगायतका बिभिन्न पुजा सामग्रीमा समेत आत्मनिर्भर बनाउने लक्ष्य रहेको पाण्डे बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?