© २०२३
नेपालगञ्ज, २४ जेठ ।
संघीय सांसद किशोर सिंह राठोरले लुम्विनी र कर्णाली प्रदेशमा पर्यटक भित्र्याउने मुलद्वार नेपालगञ्ज रहेको बताएका छन् । वेष्टर्न ट्राभल मार्टको तेस्रो संस्करण शनिवार उद्घाटन गर्दै नेपाली काँग्रेसका सह महामन्त्री समेत रहेका राठौरले भारतको उत्तर प्रदेशको विकाससँग जोडिएर पछिल्लो समय नेपालगञ्ज र कोहलपुरको पनि विकास भएको बताए ।
उनले भने, ‘लखनउ जाँदा इट्टा बिच्छयाईको सडकमा यात्रा गरेको अनुभव छ, अहिले त्यो सडकसँगै नेपालञ्ज–कोहलपुर अनि बुटवल सम्मको सडक स्तरोन्तीको अवस्था धेरै परिवर्तन भएको छ ।’ तत्काल भारतको उत्तर प्रदेशलाई मात्र लक्षित गरेर लुम्विनी प्रदेशले पर्यटन क्षेत्रको विकास गर्न पर्यटन ब्यवसायीलाई उनले आग्रह गरे । उनले भने, ‘२७ करोड जनसंख्या रहेको भारत उत्तर प्रदेशबाट मात्र पर्यटक भित्र्याउन सक्यौं भने यहाँको पर्यटन क्षेत्रमा आर्थिक चलायमान गराउन सकिन्छ ।
“नेपालगन्ज गेट वे टु कर्णाली’’ भन्ने मूल ध्येयका साथ शनिवारदेखि सुरु भएको वेस्टर्न ट्राभल मार्टको तेस्रो संस्करण तीन दिन सम्म चल्ने छ । नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, नेपालगन्ज उद्योग वाणिज्य संघ, होटल एशोसिएशन (हान) बाँके, होटल ब्यवसायी संघ बाँकेसंगको सहकार्यमा आयोजित यस मार्टले नेपालगन्जलाई कर्णाली प्रदेशको पर्यटन प्रवेशद्वारको रूपमा स्थापित गर्दै बाँकेलाई पर्यटकीय गन्तव्य जिल्ला बनाउने लक्ष्य लिएको छ ।
मार्टमा भारतका महत्वपूर्ण पर्यटकीय शहरहरू बनारस, अयोध्या, लखनउ र गोरखपुरबाट करिव ४० जना टुर अपरेटरहरूको सहभागिता रहेको र करिव एक दर्जन भारतीय पत्रकार, पर्यटन व्यवसायीहरूको पनि कार्यक्रममा सहभागिता रहेको मार्टका संयोजक एवं नाट्टा बाँकेका अध्यक्ष समेत रहेका श्रीराम सिग्देलले जानकारी दिए ।
मार्टमा विगतमा जस्तै नेपाली र भारतीय पर्यटन व्यवसायी र टुर अपरेटरबिच बीटुबी सेसन, पर्यटन क्षेत्रका नविनतम प्रवृत्ति, चुनौती र अवसरबारे टेक्निकल सेसन, बाँके र बर्दिया निकुञ्जको भ्रमण, कर्णाली नदीमा र्याफ्टिङ, स्टार होटल र क्यासिनो भिजिटका कार्यक्रम रहेका छन् ।
यस्तै मार्टको तेस्रो संकरणको मुख्य आकर्षण नेपालगन्जमा शनिवारदेखि सुरु गरिएको स्ट्रिट फुडलेन रहेको छ । नेपालगञ्जको त्रिभुवन चोकमा बेलुका ६ बजेदेखि राति ११ बजे सम्म परम्परागत स्थानीय रैथाने परिकारहरूको प्रदर्शनी सुरु गरिएको छ । जसले यस क्षेत्रको सांस्कृतिक विविधतालाई दर्शाउनेछ । वेष्टर्न ट्राभल मार्ट दोस्रो संस्करणको आकर्षणको रुपमा शक्तिपीठ बागेश्वरीमा सुरु गरिएको महाआरती १२३ औं श्रृङ्खला पूरा गरिसकेको छ ।