© 2026
वासिङ्टन डीसी ।
अमेरिकाका संघीय न्यायाधीश एलिसन बुरोले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामाथि ट्रम्प प्रशासनले लगाएको प्रतिबन्धलाई अस्थायी रूपमा रोक लगाउने आदेश दिएका छन्।
म्यासाचुसेट्सस्थित न्यायाधीश बुरोको भनाइमा, प्रतिबन्ध लागू भएमा अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वर्डले ठूलो शैक्षिक, सामाजिक र आर्थिक क्षति बेहोर्न सक्ने जोखिम छ।
यो फैसला हार्वर्ड विश्वविद्यालयले बिहीबार अदालतमा दायर गरेको मुद्दापछि आएको हो। विश्वविद्यालयले अदालत समक्ष प्रस्तुत गर्दै ट्रम्प प्रशासनले जानाजानी आफूहरूलाई निशाना बनाएको आरोप लगाउँदै यो निर्णय अभिव्यक्ति स्वतन्त्रता तथा शैक्षिक स्वतन्त्रतामाथिको हमला भएको दाबी गरेको थियो।
अर्कोतर्फ, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो प्रतिबन्ध राष्ट्रिय सुरक्षाको आवश्यकताको हिस्सा रहेको जिकिर गर्दै आएका छन्। उनले हार्वर्डमाथि यहुदीविरोधी गतिविधि नियन्त्रण गर्न पर्याप्त पहल नगरेको आरोप पनि लगाएका छन्।
यो विषयले शैक्षिक स्वतन्त्रता, आप्रवासन नीति र राजनीतिक हस्तक्षेपजस्ता संवेदनशील मुद्दाहरूलाई पुनः सतहमा ल्याएको छ। न्यायिक प्रक्रिया अझै बाँकी रहेको र आगामी दिनमा यसको स्थायी निर्णय अदालतले दिने अपेक्षा गरिएको छ।