Butwal Today

प्रधानमन्त्री ओलीको काँधमा आएको चुनौति

२४ श्रावण २०८१, बिहीबार
अ+
अ-

मुलुकको ४५ औं प्रधानमन्त्रीको रूपमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले २०८१ साल असार २९ गते पद तथा गोपनीयताको सपथ लिनु भयो । लगत्तै अन्य दुईजना उपप्रधान मन्त्री र १९ जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएपछि पहिले बनेका सरकार भन्दा यो सरकार पृथक देखियो । पृथक के मानेमा भयो भने अरू प्रधानमन्त्रीले सपथ लिएको साता दश दिनसम्म पनि मन्त्रीहरू विहीन अवस्थामा एक्लैले जिम्मेवारी वहन गर्नुपर्दथ्यो । तर यसपटक भने सबै मन्त्रालयले मन्त्री पायो र मन्त्रीहरूले सोही दिनमा पदभर ग्रहण गरेर पद वहालीको हस्ताक्षर गर्नु भएको छ भने सन्ध्याकालमा मन्त्री परिषदको बैठक बसेर केही महत्वपूर्ण निर्याण लिन पुगेको हो । यसमा श्रावण १८ गते तीन जना राज्यमन्त्री थप गरेर अव सरकारले पूर्णता पाएको छ । संविधान अनुसार मन्त्रीको संख्या पूरा भएको छ ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यसअघि तीनपटक प्रधानमन्त्री भइसक्नु भएको छ । यसअघि २०७२ साल असोज २४ गते संसदबाट निर्वाचित भएर २५ गतेका दिन सपथ लिनुभएको हो । त्यस पटक भारतले अघोषित रूपमा नाकावन्दी गरेर केपी ओलीलाई सास्ती दिएको थियो । अर्थात २०७२ साल माघ ५ गते मन्त्री परिषद गठन भएको सय दिन पुग्दासम्म पनि नाकावन्दी नहटेको अवस्था रह्यो । यसै नाकावन्दीमा दह्रो अडान लिएका कारणले केपी ओलीका अगाडि हाई थपिएको थियो अनि हाई केपी ओली बन्नुभएको थियो । त्यसबखत आम नेपाली नागरिकको साथ र सहयोग रह्यो । ओलीले पनि अभाव खट्किन नदिन भरमग्दुर प्रयत्न गरेको पाइयो । यो सरकारमा माओवादीको समेत सहभागिता थियो तर माओवादी दलले एमालेलाई विचमा धोखा दिएर अविश्वासको प्रस्ताव अगाडि सारेपछि केपी ओलीले २०७३ साल श्रावण ९ गतेका दिन पदबाट राजिनामा दिनुपरेको थियो । यसै क्रममा श्रावण १९ गतेका दिन ने.का.संग गठजोर गरेर ३९ औ प्रधानमन्त्री पदमा नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नु भएको थियो । यो समयमा पनि केपी ओलीलाई ठोसरूपमा काम गर्न दिइएन । २०७४ फागुन ३ गतेका दिन नेकपा माओवादी केन्द्रसंग चुनावी मोर्चा बनाएर लडेका वामपन्थीहरूको बहुमत आए पछि केपी शर्मा ओली मुलुकको ४१ औं प्रधानमन्त्री बन्नुभयो । सरकार बनेको केही दिन वितेपछि पुष्पकमल दाहाल प्रचण्डले ओली प्रति छिर्की लगाउन शुरु गर्नुभयो ।
केपी ओलीको लोकप्रियता देखेर माधव नेपाललाई पनि सैह्य भएन अनि त प्रचण्डसंग काँध मिलाएर पार्टीको निर्वाचित अध्यक्ष, संसदीय दलको सर्वसम्मत चयन भएको नेता, मुलुकको प्रधानमन्त्रीका विरुद्धमा गर्न सकेजति हर्कत गर्नुभयो । अन्तमा केपीलाई एक इन्च पनि खस्काउन नसके पछि पार्टी फुटाएर आफ्नै सरकारका विरुद्धमा मत हाल्नुभयो । नेकपा एमाले र माओवादी केन्द्र दुवै दल मिलेको अवस्थामा सबैतिरबाट सहयोग पाएको भए साँच्चिकैको कम्युनिष्टले चलाउने सरकारको प्रतिफल नागरिकका पोल्टामा पर्ने थियो । यसपटक के पी ओलीलाई चारैतिरबाट नाकावन्दी गरेर नपुगेर माइतीघर मण्डलामा प्रचण्ड र माधव नेपलको जमात पुगेर “हामी यहाँ छौ” भनेर धर्ना दिन समेत चुक्नु भएन । संसदीय दलको नेता, पार्टी अध्यक्ष, देशको प्रधानमन्त्री समेत रहेको व्यक्तिलाई प्रचण्ड र माधव नेपलको अगुवाईमा साधारण सदस्यबाट समेत निलम्वन गर्ने सम्मको काम भयो । पार्टी बचाएर राख्नु की कार्यकर्ता बचाएर राख्नु कि देशको दैनिक कामकाजमा ध्यान दिनु कि विकास निर्माणमा ध्यान दिनु । कतैबाट पनि बाटो खुला रहेन । यसरी केपीलाई नाकावन्दी गरेर दुवै नेता र उहाँहरूका आसेपासे त रमाउनु भए होला तर देशको निम्ति यो ठूलो घाटा थियो र भयो त्यही ।

ओलीलाई खस्काउने नाममा प्रचण्ड र माधव नेपालले बहादुरीका साथ चुनावमा नेपाली काँग्रेससंग एकता गर्नुभयो । पाँच दलको एकताका वावजुद पनि एमालेले सानदार जीत हात पारेको कारणले अहिले संसदमा दोस्रो ठूलो दल बन्न पुगेको छ । केपी ओलीको आफ्नै र पार्टीका केही नेता कार्यकर्ता सबैको दूरदर्शीताका कारण वर्तमान गठवन्धनको सरकार बनेको छ । प्रचण्डका हातमा अव हिंजोको जस्तो बज्र (इन्द्रको मुख्य हतियार) पनि छैन । अब त उहाँले मनगढन्ते कुरा गरेर दिन विताउन लाग्नुभएको छ भने माधव नेपाललाई आफ्नै धोती स्याहर्न ठिक्क भइसकेको छ । अव उहाँले आफ्ना कार्यकर्ता कसरी बचाउने भन्ने सुर्ता छोडनु भयो भने केही समयभित्र अहिले समाजवादीको केन्द्रीय कमिटीमा गएका सहित धेरैजसो नेता कार्यकर्ता एमालेमा फर्किसकेका हुनेछन् । यो धोती स्याहार्नु कि एमालेलाई प्रहार गर्नु ? माधव नेपाललाई पार्टी फुटाएको सजाय भोग्न बाँकी छ । यो कुनै दिन भोगेको देख्ने अभिलाषा बोकेका नेता तथा कार्यकर्ता जिउँदै रहनेछन् । पहिलो केपी ओलीलाई उखान टुक्का भन्ने भनेर कसैले निन्दा गर्छन । टुक्का भन्न त सीप चाहिन्छ । सीप भएकाहरूले टुक्का भन्ने गरेमा केही फरक पर्दैन । दोस्रो उनले आँङ भन्दा टाँग ठूलो बनाउँछन् पनि भन्छन् र तेस्रो सपना बाँड्ने नेता पनि भन्छन् । यो सही पनि हो । उनले टाँग ठूलो बनाउँछन र त सुरुङ बनाउने कुरा गर्दछन्, पानी जहाज ल्याउने कुरा गर्छन् । रेल गुडाउने कुरा गर्छन । यसरी सपना नदेखिकन कसरी नयाँ कुरा प्राप्त हुन्छ ? प्रधानमन्त्री भएको १५ दिनमा नयाँ सपना आइसकेका छन् । अव केपी ओली र सरकारको ध्यान भनेको एक दृष्टि (अर्जुन दृष्टि) का साथमा सुसाशन, विकास निर्माणमा लाग्ने हो भने तत्काल उनको कार्यमा कतैबाट कसैले घुन पुत्ला लगाउन सक्ने छैन ।

अब प्रचण्डको फत्फत्को कुुनै तुक छैन । उहाँको कार्यशैलीबाट वाक्क दिक्क भएका नेता कार्यकर्ताको साउतीलेले तल्काल पार्टी भित्र दरार पर्ने चर्चा चल्दैछ । माधव नेपालले आफ्नो धोती खुस्कनबाट बचाउन सक्नु भयो भने ठूलो उपलब्धि त्यही हुने छ । त्यत्रो तामझामका साथ गरिएको अधिवेशनले केन्द्रीय कमिटी तयार गर्न सकेन अनि ३ जना नेताको पोल्टामा हालेर विधान उल्लंघन गरेर भए पनि केन्द्रीय कमिटी तयार भएको छ । जुन पार्टी पाँच दलको गठवन्धन गर्दा पनि राष्ट्रिय पार्टी बन्न सकेन । अव के साँच्चि एक्लै चुनावमा होमिनु भयो भने एक सिट ल्याउन सफल हुनुहोला ? यो कुनै गलत नियतका साथ भनिएको होइन । भर्खरै सम्पन्न दुईवटा उपनिर्वाचनले समाजवादी पार्टीको सक्कली रूप त देखाएको छ त । यो कुरा कुनै पूर्वाग्रही भएर भनिएको होइन । उहाँहरूको चित्र जसले हेर्न चाहे पनि यही देखिने छ ।

यतिवेला केपी ओलीको काँधमा आएको जिम्मेवारी अरूलाई गाली गलौच गरेर पूरा हुनेछैन । नाङ्लो ठटाउनेहरूले ठटाइरहुन, भुक्नेहरू भुकिरहुन त्यसका पछाडि नलागिकन आफ्नो दूरदृष्टि प्रयोग गरिरहनु पर्दछ । यसपटक केही गरेर देखाउन सकिएन भने मिसन चौरासी नारा जति पटक सुनाएपनि केही अर्थ रहने छैन । अर्थ सहित देखाउनका लागि पहिले भने जस्तै वर्तमान सरकारसंग अर्जुनदृष्टि नै चाहिन्छ । जहाँ गोल गर्नुपर्ने हो त्यही मात्र दृष्टिजानु मनासिव हुने छ । चेतना भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?