Butwal Today

खसी बिक्री गर्दा गाउँपालिकाको अनुदान

कृषकहरूलाई सहकारी तर्फ आकर्षित गर्न गाउँपालिकाले सहकारी मार्फत खसीबोका बिक्री गर्ने किसानलाई प्रतिकिलो २० रूपैयाँ अनुदान दिइएको छ ।
३० असार २०८१, आइतबार
अ+
अ-

सल्यान, २९ असार । सल्यानको त्रिवेणी गाउँपालिकामा किसानहरूले गाउँपालिकाको अनुदान प्राप्त गर्दै २ करोड ३६ लाख बढीको खसी बिक्री गरेका छन् । व्यापारीहरूले आफूखुसी खसीबोकाको मूल्य निर्धारण गर्दा किसानहरू मारमा परिरहेको अवस्थामा त्रिवेणी गाउँपालिकामा सहकारी मार्फत बजारीकरण गर्न थालेपछि किसानहरू खुसी भएका छन । त्रिवेणी गाउँपालिकाको कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत सहकारी मार्फत चालु आर्थिक वर्षमा मात्रै २ करोड ३६ लाख ३० हजार ६ सय २९ रूपैयाँको खसी बिक्री गरेको त्रिवेणी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिए ।

दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध किसानहरूले सबैभन्दा धेरै ६ सय १८ खसी बिक्री गरेर १ करोड २० लाख ४३ हजार ५ सय ९५ रूपैयाँ आम्दानी गरेका छन् । यस्तै उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३ सय ८१ खसीको ७० लाख ३७ हजार ५ सय ६७ रूपैया, नमुना सामाजिक उद्यमी महिला सहकारी संस्थाले २ सय १५ खसीको ४२ लाख ८८ हजार ७ सय ८२ रूपैया र त्रिवेणी पशुपालन कृषि सहकारी संस्था लि. ले १० वटा खसीको २ लाख ६० हजार ६ सय ८५ रूपैया आम्दानी गरेको रावतले जानकारी दिए । पालिकाले मापदण्ड पुगेका १ सय ८२ खसीको प्रतिकिलो रु २० का दरले ६ लाख ८५ हजार रूपैयाँ अनुदान रकम उपलब्ध गराएको हो ।

गाउँपालिकाले वडा नं. २ ४ र ५ वडालाई बाख्रा पकेट क्षेत्रको रूपमा विकास गरेको छ । जसले गर्दा यहाँका किसानहरूले खसीबोका बिक्रि गरेर राम्रो आम्दानी गर्दै आईरहेको गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले जानकारी दिए । कृषकहरूलाई सहकारी तर्फ आकर्षित गर्न गाउँपालिकाले सहकारी मार्फत खसीबोका बिक्री गर्ने किसानलाई प्रतिकिलो २० रूपैयाँ अनुदान दिँदै आइरहेको उनको भनाइ छ ।
हाल गाउँपालिकाले पशु सेवा शाखामार्फत पशु स्वास्थ्य सेवा, पशु आहारा विकास कार्यक्रम, पशु प्रजनन सेवा, तालिम तथा पशु सेवा प्रसार कार्यक्रम, पकेट प्याकेज कार्यक्रम, व्यावसायिक फार्म प्रवद्र्धन कार्यक्रम, पशुपंक्षी बजार प्रबद्र्धन र नियमनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । पछिल्लो समय कृषकहरूले व्यावसायिक बाख्रा पालनमा जोड दिन थालेपछि आर्थिक क्षेत्रमा उनीहरू अब्बल बन्दै गएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले जनाए ।त्रिवेणी ४ फलाबाङका कृषक शंकर भण्डारीले २ सय ४४ केजि बराबरका ५ वटा खसी सहकारी मार्फत बिक्री गरेको जनाए । आफूहरूले उत्पादन गरेका खसी बोका सहकारीमार्फत बेच्न थालेपछि निकै सहज भएको र भनेजत्तिकै मूल्य पाएको उनको भनाई छ ।

समूह र सहकारीमा आबद्ध महिलाहरूले पालेका खसी बोका पहिले अन्दाज गरेर बेच्दा अति नै घाटा व्यहोर्नुपरेको थियो । ‘पहिले गाउँमा आउने व्यापारीले जे मूल्य लगायो त्यसमा बेच्ने गरिन्थ्यो त्यसले निकै घाटा हुन्थ्यो तर अहिले सहकारीबाट तौलेर तौलको हिसाबमा बेच्दा फाइदा हुने गरेको छ,’ त्रिवेणी ४ फलाबाङकी निमा रावतले भनिन् । उनले २ सय १ केजि बराबरका ५ वटा खसि बिक्री गरेको जनाइन् । किसानले हचुवाको भरमा खसी बोका बेच्दै आएकोमा सहकारीमार्फत किसानले तौल गरेर बेच्ने गरेको नमुना सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक पूजा भण्डारीले बताइन् ।