© 2026
सुर्खेत, १० असार ।
कर्णाली प्रदेशको राजधानीको पालिका वीरेन्द्रनगरले आगामी आर्थिक वर्षका लागि तीन अर्ब बढीको बजेट ल्याएको छ । नगरपालिकाको १५ औं नगर सभामा उप–प्रमुख निलकष्ठ खनालले आगामी आर्थिक वर्षका लागि तीन अर्व ५९ करोड १८ लाख ६८ हजार ९ सय ९९ रुपैयाँ बजेट सार्वजनिक गरेका हुन् । नगरपालिकाले कृषि स्वास्थ्य तथा लक्षित वर्गको कार्यक्रमलाई प्राथमिकता दिएर बजेट सार्वजनिक गरेको छ ।
महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गलगायत अन्य लक्षित वर्गमा एक करोड १६ लाख ३० हजार, शिक्षा, युवा तथा खेलकुदमा ७ करोड ९० लाख ६७ हजार, वन, वातावरण, फोहरमैला तथा विपद व्यवस्थापनमा दुई करोड ६४ लाख २० हजार, सार्वजनिक सेवा तथा सुशासनमा २ करोड १७ लाख ४५ हजार र नगर स्तरीय विविध पूर्वाधार विकासमा २५ करोड ८५ लाख ५० हजार बजेट विनियोजन गरेको उपप्रमुख खनालले बताए ।
वीरेन्द्रनगरले कृषि विकासमा ५६ लाख ५० हजार, पशुपन्छी विकासमा ४५ लाख ६० हजार, उद्यम सहकारी तथा उपभोक्ता हितमा ६१ लाख ५० हजार र जनस्वास्थ्य प्रवद्र्धन तथा नगर अस्पतालमा चार करोड पाँच लाख ५८ हजार बजेट विनियोजन गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाको खानेपानीको समस्यालाई तत्काल समाधान गर्न डिप बोरिङ, खानेपानी पाइपलाइन विस्तार तथा पुराना आयोजनाहरुको मर्मत संभार र विस्तार तथा खानेपानी प्रणाली सुधारको लागि वडास्तरीय कार्यक्रममार्फत यथोचित बजेट विनियोजन गरिएको खनालले उल्लेख गरे ।
प्रदेशको राजधानीको अस्तित्वलाई विशेष ध्यान दिंदै शहरी सौन्दर्यताका पूर्वाधारहरुलाई विशेष जोड दिदै घण्टाघर पार्क लगायत सुर्खेत उपत्यका नगर विकास समिति तथा नगरपालिकावाट खाली गराइएका सार्वजनिक जग्गामा पार्क तथा पार्किङ स्थल निर्माणका लागि ७ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
सभामा नगर प्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरमा तीनवर्षभित्र खानेपानीको व्यवस्थापनका लागि काम अगाडी बढाइने बताइन् । उनले राष्ट्रिय गौरवको आयोजना भेरी पम्पिङ खानेपानी आयोजना निर्माण प्रक्रिया प्रारम्भ भएकाले खानेपानी व्यवस्थापन गर्न तीब्रताका साथ कार्य अघि बढाइने उल्लेख गरिन् ।
राजधानीकेन्द्रित पूर्वाधार विकास आयोजना लागू, मुख्य बजार पार्किङ व्यवस्थापन गर्न घण्टाघर पार्क निर्माण र घण्टाघर पश्चिम खुल्ला पार्क निर्माण घण्टाघर दक्षिण पार्क निर्माण आगामी बर्षबाट कार्य प्रारम्भ गरी व्यवस्थित सहर निर्माण गरिने नीतिमा नीतिमा उल्लेख छ ।
वीरेन्द्रनगरको मुख्य बजार ट्राफिक व्यवस्थापनको लागि मंगलगढी चोकमा आकासे पुलको निर्माण कार्य अगाडि बढाउने र नगरभित्रका ऐतिहासिक चौतारीलाई थप सुन्दर बनाई संरक्षण गर्न चौक सुधार अभियान निरन्तर अघि बढाइने ढकालले बताइन् ।