© २०२३
काठमाडौं ।
नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्री चरणमा स्थान सुरक्षित गरेको छ। शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालको सुपर थ्री यात्रा सुनिश्चित भएको हो।
नेपाल र हङकङ दुवैको ५–५ अंक भए पनि नेपालले बढी जित निकालेको आधारमा सुपर थ्रीमा स्थान बनाएको हो। यद्यपि नेट रनरेटमा हङकङ अघि थियो, तर प्रतियोगिताको नियमअनुसार अंक बराबरी भएमा बढी जित निकाल्ने टोलीले अग्रता पाउँछ।
नेपालले आफ्नो समूहमा ४ खेलमध्ये २ जितेको, १ मा पराजित भएको र १ खेल वर्षाका कारण बिना नतिजा सकिएको थियो। हङकङले भने एकमात्र जित निकाल्दा बाँकी तीन खेल नतिजाबिहीन भएका थिए। यद्यपि नेपाल हङकङसँग पराजित भएको थियो, बहराइनमाथि लगातार दुई जित निकाल्दै नेपालले सुपर थ्रीको ढोका खोलेको हो।
प्रतियोगितामा ९ टोलीलाई तीन समूहमा बाँडिएको थियो। प्रत्येक समूहको शीर्ष टोली मात्रै सुपर थ्रीमा प्रवेश गर्ने प्रावधान थियो। समूह ‘ए’ बाट थाइल्यान्ड, समूह ‘बी’ बाट युएई र समूह ‘सी’ बाट नेपालले अन्तिम चरणमा स्थान बनाएका हुन्।
अब सुपर थ्री चरणमा यी तीन टोली एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। शीर्ष दुई टोलीले महिला टी–२० विश्वकपको ग्लोबल छनोट चरणमा स्थान बनाउनेछन्।