काठमाडौं।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय सम्झौताबाट बाहिरिने निर्णय गरेका छन्। बुधबार क्यानले आगामी सिरिजका लागि टोलीलाई बिदा गरेको केही समयमै सन्दीपले सामाजिक सञ्जालमार्फत यो घोषणा गरेका हुन्।

सन्दीपले लेखेका छन्, “धेरै सोचविचारपछि मैले यस पटक नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णयमा पुगेको छु।” उनले यो निर्णयलाई न त क्रिकेटबाट टाढा जान खोजिएको कदम भनेका छन्, न त राष्ट्रबाट। बरु, व्यक्तिगत र व्यावसायिक जीवनमा नयाँ ढंगले अघि बढ्न चाहेको स्पष्ट पारेका छन्।
सन्दीपले क्यानप्रति कृतज्ञता प्रकट गर्दै लेखेका छन्, “नेपाल क्रिकेट र मेरो विकासमा क्यानको भूमिका महत्वपूर्ण रह्यो।” साथै, उनले जीवनलाई विकास, उत्तरदायित्व र निरन्तर सिकाइको यात्रा भनेर परिभाषित गर्दै अगामी यात्राप्रति उत्साहित रहेको उल्लेख गरेका छन्।
उनको भनाइमा, “कहिलेकाहीँ छनोटहरू उद्देश्य र विकासको ठाउँबाट गरिन्छ।”
यो निर्णय क्रिकेट करियरमा उनको नयाँ मोडको संकेत दिन सक्छ। यद्यपि, उनले खुला रूपमा आगामी योजना के छ भन्ने भने खुलाएका छैनन्। क्यानसँगको सम्झौता तोडिए पनि सन्दीपले राष्ट्रिय टिमबाट भविष्यमा खेलेनन् भन्न सकिने स्थिति छैन — उनी अझै क्रिकेटसँग जोडिएका छन्, तर संस्थागत संरचनाबाट अलग भइ केही समय ‘व्यक्तिगत मार्ग’ रोज्ने संकेत मिलेको छ।



