© २०२३
बैशाख पूर्णिमा । बुद्ध जन्मेको, ज्ञान प्राप्त गरेको र महापरिनिर्माण प्राप्त गरेको दिन । यही तिथिलाई आधार मानेर बुद्ध जयन्ति पर्व मनाउने गरिन्छ । हिमाली बौद्ध परम्परामा यसलाई सागादावा पर्व पनि भन्ने गरिन्छ, जुन करिब एक महिनासम्म चल्छ । कतिपयको मान्यतामा जयन्ति शब्दले बुद्धको जन्मलाई मात्र समेट्ने भएकाले यसलाई बैषाख पूर्णिमा भन्नु पर्दछ भन्ने तर्क छ । यसलाई नकार्न पनि सकिँदैन । कतिपयले बुद्धको जन्म, ज्ञान प्राप्ती र महापरिनिर्वाण तीनै किुराको संयोग भएकाले यस दिनलाई त्रिसंयोग दिवस भन्नु पर्दछ भन्ने पनि तर्क गर्दछन् । तर, बुद्ध स्वयम् भाग्य र संयोगमा विश्वांस गर्दैनथे । त्यसैले त्रिसंयोग दिवस भन्ने वा नभन्ने सन्दर्भमा एक मत देखिँदैन । वैषाख पूर्णिमा, बुद्ध पूर्णिमा, सागादावा पर्व वा त्रिसंयोग दिवस जे भने पनि यस दिन बुद्ध र उनको शिक्षालाई स्मरण गर्ने तथा शान्तिको पक्षमा लागिरहने प्रेरणाको दिनको रूपमा स्मरण गर्नु उपयुक्त हुन्छ । मानिसको दुःखलाई बुझ्न र त्यसको निवारण गर्न राजसी सुखसयल त्याग गरेर सिद्धार्थ गौतमले मानव कल्याणका निम्ति दिएको उदाहरणलाई यो विश्वले कहिले पनि भुल्ने छैन । ज्ञान, ध्यान र शान्तिको त्रिवेणाी हुन् बुद्ध । उनका उपदेशहरूमध्ये चार आर्य सत्य र दुःख निरोधको रूपमा आर्यअष्टाङ्गिक मार्ग निकै महत्वपूर्ण मानिन्छ । चार आर्य सत्यमा बुद्धले दुःख छ, दुःखको कारण छ, दुःख निरोध गर्न सकिन्छ र त्यसको लागि आर्यअष्टाङ्गिक मार्गलाई उपायको रूपमा बताएका छन् । दुःख सत्य छ । जन्मनु दुःख हो । बुढो हुनु र मर्नु दुःख हो । शोक, विलौना शारिरीक पीडा, मानसिक हैरानी, निराशा सबै दुःख हो । प्रिय कुरा छुट्नु मात्र दुःख होइन अप्रिय कुरासँग भेटिनु पनि दुःख हो । साथै चाहेको कुरा प्राप्त नहुनुलाई पनि दुःख मानिन्छ । रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान यी पाँच स्कन्द उपादान पनि दुःख हुन् । त्यसैले यस्ता दुःखहरूलाई बुझ्न सकियो भने हामी एउटा सत्यसँग साक्षातकार हुन्छौँ । बुद्धले दुःखको मूल कारणका रूपमा तृष्णालाई लिएका छन् । जीवनप्रतिको तृष्णा, भौतिक वस्तु तथा सेवा प्राप्तीको तृष्णा, सम्बन्धहरूप्रतिको तृष्णा, मान, पदवी, साधन, स्रोत, ख्याती आदि प्राप्त गर्ने तृष्णाले दुःखलाई जन्माउँछ । अर्काे कुरा के भने तृष्णाको कहिल्यै पनि अन्त्य हुँदैन । एउटा चाहना पूरा भए अर्काे चाहनाको जन्म हुन्छ । बुद्धले दुःखको निरोध अर्थात् अन्त्य गर्न सकिने कुरा बताएका छन् र त्यसको लागि तृष्णाको अन्त्य गर्नुपर्ने कुरा पनि सुझाएका छन् । जबसम्म तृष्णारूपी जरा उखेलेर फालिँदैन, तबसम्म दुःखरूपी रुख झाँगिदै जान्छ र यसले मानिसको जीवनलाई सुखी बनाउन सक्दैन ।
अष्टाङ्गिक मार्ग अपनाउनसके दुःखनिरोध गर्न सकिने कुरा बुद्धले बताएका छन् । यही मार्ग हुँदै भवचक्रबाट मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने उनको मान्यता छ । आर्यअष्टाङ्गिक मार्गमा आठवटा अङ्ग छन् जसलाई तीन महत्वपूर्ण सोपान शील, समाधि र प्रज्ञा अन्तर्गत समावेश गर्न सकिन्छ । शील सोपानअन्तर्गत (सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका), समाधि अन्तर्गत (सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधी) तथा प्रज्ञा सोपान अन्तर्गत (सम्यक दृष्टि, सम्यक संकल्प) पर्दछन् । अष्टाङ्गिक मार्गले सफलता मात्र दिँदैन, खुशी र शान्ति पनि दिन्छ । यसले वास्तविक जीवनबोध गराउँदछ ।
बुद्धको अष्टाङ्गिक मार्गको पहिलो अङ्ग ‘सम्यक दृष्टि’ हो । हामी सहि हो कि गलत हो भन्ने कुरा सम्यक दृष्टिबाट ठम्याउन सकिन्छ । विचार र दृष्टिकोणमा शुद्धताले दुःख जन्मन दिँदैन । सोँच र हेराइ सही भयो भने मानिस गलत बाटोमा लाग्दैन । त्यसैगरी अष्टाङ्गिक मार्गको दोस्रो अङ्ग हो ‘सम्यक संकल्प’ । यसको अर्थ हुन्छ, सत् कार्यहरूको विचारले सोही मार्गमा हिडाउने भएकाले मानिसलाई गलत कार्यबाट जोगाउँछ । त्यसैगरी नराम्रो काम नगर्नु र परोपकारी भाव जागृत गर्नु पनि सम्यक संकल्प हो । सफलता प्रतिवद्धताको प्रगाढतामा निर्भर हुन्छ ।
तेस्रो अङ्ग हो ‘सम्यक वचन’ । आफ्नो बोलीले कसैको पनि चित्त दुखाउनु हुँदैन । त्यसैले सत्य बचन र बचनमा माधुर्यता हुनु आवश्यक छ । हाम्रो वाणी, वचन, बोली निस्पाप र निसकलंक हुनु पर्दछ । मिठो वोल्ने, कर्णप्रिय वोल्ने, सत्य वोल्ने, झुटो नवोल्ने आदि क्रियाहरू यस अन्तर्गत पर्दछन् । त्यसैगरी अष्टाङ्गिक मार्गको चौथो अङ्ग हो ‘सम्यक कर्म’ । कर्मको सम्बन्ध हाम्रो मन र शरिरसँग हुन्छ । सही कर्मबाट मानिसले आफ्नो पहिचानलाई असल बनाउन सक्छ । साथै यसले एक प्रकारको सन्तुष्टी पनि प्रदान गर्दछ । तर दुश्कर्म गर्ने मान्छेलाई सधैँ भय, त्रास र डर रहन्छ । त्यसैले हाम्रो कर्मले कसैलाई पनि हानी, नोक्सानी, दुःखी तुल्याउनु हुँदैन । कर्मका कारण हिंसा र अत्याचारको जन्म नहोस् भन्ने कुरामा हामी सचेत हुनु आवश्यक छ ।
पाँचौं आर्यअष्टाङ्गिक मार्गमा ‘सम्यक आजीविका पर्दछ । हामीले काम गर्दा अरू कसैको हानी नोक्सानी पु¥याउनु हुँदैन । जीवन निर्वाह गर्न अपनाइने व्यवसाय छनौट गर्दा झूठ, अन्याय, अत्याचार र हिँसाको मार्ग अपनाउनु हुँदैन । अरूलाई कष्ट वा हानी नोक्सानी र दुःख दिएर व्यवसाय गर्नु हुँदैन । हामीले जुन काम गर्दछौँ, त्यसमा उत्कृष्ठता हुनु जरुरी छ । दुःख निरोध गर्नका लागि राम्रो जीवनशैली, खानपानमा ध्यान दिनु पर्दछ । जीवनलाई सरल बनाई अरूको उपयोगितामा समर्पित गर्नु राम्रो हो । यसले सन्तुष्टी दिन्छ, सुखको बाटो पहिल्याउँछ । ‘सम्यक व्यायाम’ छैठौँ आर्यअष्टाङ्गिक मार्ग हो । हाम्रो भित्री आत्मालाई उचित खान पान, आहार विहार, व्यवहार आदिबाट शुद्ध बनाउनु पर्दछ । दुषित मनोभावना रहेको छ भने त्यसलाई निस्तेज पार्नु पर्दछ । यसैलाई नै ‘सम्यक व्यायाम’ भनिन्छ । यसले आफ्नो र अरूको पनि भलो गर्दछ ।
सातौं ‘सम्यक स्मृती’ हो । मन मस्तिष्कमा असल सोंच र विचारको प्रवाहले दुःखबाट टाढा राख्दछ । आशक्ति र घृणाबाट मुक्त भई आफैलाई चिन्ने बुझ्ने प्रयास गर्नु पर्दछ । सही गलत छुट्याउन सक्ने हुनु पर्दछ । भविष्यलाई लिएर चिन्ता गर्ने र वितेको कुरालाई लिएर पछुताउने गर्नु व्यर्थ हो । हामी वर्तमानमा ज्युन सिक्नु पर्दछ । वुद्धको आठौं मार्ग ‘सम्यक समाधी’ हो । चित्तको एकाग्रता वा मनको निर्मलताबाट गरिने कार्य मात्र सफल र हितकारी हुन्छ । मनलाई एकाग्रता गर्नुपर्दछ । यसको लागि विपस्यना गर्न सकिन्छ । मन स्थिर भयो भने चित्त पनि स्थिर हुन्छ र यसले शरीरलाई पनि स्थिर बनाउँछ । हामी मनको इशारामा हिड्नु हुँदैन । मनलाई जहिले पनि हाम्रो नियन्त्रणभित्र राख्न सक्नु पर्दछ ।
सम्यक दृष्टि र सम्यक संकल्पले सुख दिन्छ । सम्यक वाचन, सम्यक कर्म, सम्यक आजीविका र सम्यक व्यायामले मानिसलाई सफलताको बाटोमा हिड्न मद्दत गर्दछ । त्यसैगरी सम्यक स्मृती र सम्यक समाधीले मानिसलाई मानसिक शान्ती दिन्छ । यस प्रकार बुद्धले देखाएको बाटोबाट हामीले सुख, शान्ती र सफलता सँगसँगै प्राप्त गर्न सक्छौं । तर त्यसलाई विस्तृत र गहिराइमा अभ्यास र ध्यान गर्न आवश्यक हुन्छ । बुद्धले प्रतिपादन गरेका शिक्षाहरू चार आर्यसत्य, आर्यअष्टाङ्गिक मार्ग, प्रत्यीत्यसमुत्पाद तथा पञ्चशीलका ज्ञानहरूको व्यवहारमा प्रयोग गर्न सक्ने मान्छेले निर्वाण प्राप्त गर्न सक्छ र दुःखको भवचक्रबाट उम्कन सक्छ ।
यही नै बुद्ध शिक्षाको सार हो । यसलाई जीवनमा उतार्ने प्रयास गर्नु आवश्यक छ । आज विश्वका अधिकांश मानिसहरू संसारिक जीवनबाट विक्षिप्त भई बुद्धमार्गलाई आफ्नो केन्द्रमा राखी अगाडि बढिरहेका छन् । श्रीलंका, म्यानमार, थाइल्याण्ड, कम्बोडिया, चीन, जापान, दक्षिण कोरिया जस्ता मुलुकहरूले बुद्धधर्मलाई निकै महत्व दिँदै आएका छन् । भुटानले कुलग्राहस्थ उत्पादनको साटो कुल ग्राहस्थ खुसीको अवधारणामार्फत् बौद्ध आर्थिक विचारधारालाई राज्य सञ्चालनमै समाविष्ट गरेको छ । त्यसैगरी थाइल्येण्डले पनि ‘सफिसियन्सी इकोनोमी’ मार्फत् बौद्ध अर्थशास्त्रलाई प्राथमिकता दिएको छ । पञ्चशीलको पालना गर्न सक्ने हो भने मात्र पनि विश्व शान्ति कायम गन सकिन्छ । तर बुद्धका विचार र दुःख निरोधको मार्गलाई हामीले पछ्याउन सकेका छैनौ । बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने विषयमा मात्र हाम्रो चासो रह्यो । यो विडम्बनाको विषय हो । यहाँसम्म कि बुद्धको जन्मथलो लुम्बिनीलाई सरकारले नजरअन्दाज गरेको देखिन्छ । पर्यटन, धर्म, संस्कृति र ऐतिहाँसिक दृष्टिले लुम्बिनी हाम्रो लागि महत्वपूर्ण र पवित्र स्थल हो । पर्यटनको आधार पनि हो । त्यसैले बुद्धलाई हाम्रो आदर्श बनाउन सके मुलुकले पहिचान प्राप्त गर्न सक्छ । साथै मुलुकले सामाजिक एवम् आर्थिक प्रगति गर्ने कुरामा कुनै सन्देह छैन ।