ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

बुद्धको लिलामी !

२९ बैशाख २०८२, सोमबार
२९ बैशाख २०८२, सोमबार

बुद्धको जात
बुद्धले जातपातलाई मानेनन् र बुद्ध धर्ममा जाति व्यवस्था पनि छैन । तर, नेपालमा बुद्ध आफ्नो जातको भएको भन्दै तानातान भैरहेको हुन्छ । एकथरीले बुद्धलाई मंगोल भएको दाबी गर्छन् र बुद्धको नाक चुच्चे मुर्तिको घनघोर विरोध गर्छन् । उनीहरूले बनाउने बुद्धमुर्तिहरू मंगोलियन अनुहारका हुन्छन् । अर्काथरीले बुद्ध तराईमा जन्मिएकोले उनी यहाँका थारु जाति नै भएको दाबी गर्छन् । बौद्ध ग्रन्थ दिग्घनिकायको अम्बेस्थ सूत्तसँगै सुमंगल विलासिनी, अश्वघोषको महाकाव्य, सौन्दरानन्द, ललितविस्तार तथा जातक कथाहरू आदि ग्रन्थहरूमा कपिलवस्तु राज्य स्थापनाका कथाहरू पढ्न सकिन्छ । उल्लेखित ग्रन्थ र अन्य विद्वानहरूका अनुसार साकेतका राजा इक्ष्वाकु (कसैले ओकाक पनि भनेका छन्) कि रानीको असामयीक निधनपछि उनले दोस्रो विवाह गरे । दोस्रो पत्नी जयन्तीले केही समयमै जन्माएको पुत्र जयन्तुलाई राजा बनाउने चाहना राखेर दबाव दिन थालेकीले उनको वशमा परेका राजाबाट उल्कामुख, करकण्ड, हथिनिक, सिनीपुत्र नामक छोराहरूसँगै प्रिया, सुप्रिया, अनन्द, विजिता, विजितसेन नामक ५ छोरी गरि ९ सन्तानलाई दवावपूर्ण रूपले राज्यबाटै निष्कासन गरियो । निष्काशित राजकुमार राजकुमारीहरू साकेतबाट निस्केर हिमालयतर्फ बढ्नेक्रममा वर्तमान वाणगंगा नदी किनारमा आइपुगे । कपिल ऋषिको आश्रमद्वारा सुसज्जित उक्त ठाउँमा पुगेपछि आश्रय एवं सल्लाह मागेका राजकुमार राजकुमारीलाई बस्ने अनुमति दिएका कपिल ऋषिले उपयुक्त हुने क्षेत्र पनि देखाइदिए । कपिल ऋषिको सम्मतिपछि शकवृक्षहरूको फँडानी गरी बस्ती बसाल्ने कार्य थालेका राजकुमार र राजकुमारीहरूले समयक्रममा सुन्दर नगर हुँदै शहर–राज्यमा परिणत गरे । ऋषि कपिलको परामर्शसमेत लिई जेठी राजकुमारी प्रिया बाहेकले दाजु बहिनीमै विवाह गरेर प्रशस्त सन्तान पनि जन्माए । कसै कसैले शकवृक्षको फडानी गरेर राज्य बनाएकोले शाक्य भएको हो भन्ने गर्छन् भने कसैले राजकुमारहरूको राज्यको उन्नती प्रगतीका समाचारवाट हर्षविभोर भएका राजा इक्ष्वाकुबाट “शाक्य वट भो कुमार, परम शाक्यवट भो कुमार“ अर्थात् आहा ! समर्थवान (शाक्य) साँच्चै समर्थवान (शाक्य) रहेको कुमारहरू ! भन्दै खुशी व्यक्त गरेकाले समयक्रममा यिनीहरू शाक्य कहलाइएका हुन् भन्छन् । त्यसबाहेक यिनीहरू साकेतवाट आएका हुनाले सोही स्थलकै नामका आधारमा साकेता हुँदै शाक्य भएको तर्क दिनेहरू पनि भेटिन्छन् । समग्रमा शाक्य भनिनुका पछाडि शकवृक्षको जङ्गल फाँडेर राज्य स्थापना गरेको, पिताद्वारा समर्थवान (शाक्य) भनिएको, साकेतवाट आएकाले र सन्त कपिलको आशिर्वादमा राज्य खडा गरेको तर्कहरू पाइन्छ । अचेल शाक्य नेवारहरू, अहिन्दुकरणको अभियानमा लागेका जनजातिहरू र थारुहरूले बुद्ध आफ्नो पुर्खा रहेको दाबि गरिरहेका छन् । केहि तराईका अन्य जातजातिहरू पनि यो अभियानमा यदाकदा देखिन्छन् ।

मूर्ति ठड्याउदै, इज्जत धुमिल्याउँदै
भैरहवातिरबाट लुम्बिनी जाँदा लुम्बिनी प्रवेश गर्ने स्थानमा छ तेलार नदी । बौद्ध सभ्यतामा तेलार नदीको महत्वपूर्ण स्थान रहेको छ । यही नदीलाई चिनिया यात्रीहरू फाहियान र हुयाँन साङ्गले आफ्नो यात्रा वृतान्तमा उल्लेख गरेका थिए । लुम्बिनीको पहिचान हुनुमा यो नदीको पनि प्रमाणको भूमिका खेलेको थियो । यहि नदीको छेवैमा राजमार्गसँग सटाएर २÷३ कट्ठा जग्गामा कम्पाउण्ड गरेर एक कुनामा बुद्ध मुर्ती राखिएको थियो । त्यो मुर्ति अहिले बेवारिसे छ । कम्पाउण्ड भत्किएको छ । बाख्रा चराउनेहरू बस्ने, कुखुरा पोलेर खाने, गाँजा र लागु पदार्थ खाने स्थान बनेको धेरै भो । मुर्ति ठडाईएको छ, तर मुर्तिको सम्मान छैन । यहाँमात्र हैन, अचेल बुद्धलाई पहिचान बनाउने भनेर केहि जमातले (धर्मात्माले हैन) चोकमा, चौरमा, वनमा, पार्कमा र सडकमा बुद्धका बहुढङ्गी शालिकहरू ठडाएको देखिन्छ । बुद्धका शालिक, मुर्ति राखिएका स्थानमा मानिसहरूले सामान्य मर्यादा राखिदिएका समेत हुदैनन् । बुद्ध जयन्तिको दिन
कतैकतै शालिक, मुर्ति उजिल्याउने काम भएपनि अधिकांश अवस्थामा मुर्ति÷शालिकप्रति त्यसको सेरोफेरोमा बस्ने हिड्ने र राख्नेले चासो राख्दैनन् । सौन्दर्यका लागि राखिने यस्ता शालिक वरिपरी फोहरमैला हुँदा, धुलो र धुँवाले गर्दा मुर्ति नचिनिने हुँदा समेत कसैको मन अमिलो हुदैन । मासु पसलदेखि रेस्टुराँसम्मका नाम बुद्धको नामबाट राख्ने, बौद्ध ध्वजा त्यस्ता स्थानमा फहराउने कुरालाई कतिपयले सामान्य रूपमा लिइरहेका छन् । शान्तिका प्रतिक गौतम बुद्धलाई चोक र सडकमा ठड्याएर वेवास्ता गर्नु, पञ्चशिलको धज्जी उडाउने व्यवसायको नाम र सौन्दर्यिकरणमा बुद्धको नाम र ध्वजा प्रयोग गर्नु भनेको बुद्धलाई लिलामीमा चढाउनु जस्तै हो ।

बुद्धको नाममा असहिष्णु
विश्वमा एउटै स्वरूपलाई फरकफरक धर्मका अनुयायीले आफ्नै किसिमले मानेको, पूजेको देखिन्छ । यसको गतिलो उदाहरण नेपालको मुक्तिनाथ मन्दिर र तिब्बतको मानसरोबर ताल र कैलाश पर्वतलाई लिन सकिन्छ । पौराणिकरूपमा हिन्दुहरूले पनि बुद्धलाई भगवान विष्णुको नवौ अवतारको रूपमा मान्ने गर्छन् । तर हिन्दुहरूले बुद्धलाई पुज्दा केहि समुहहरूले आपत्ति प्रकट गरेको देखिन्छ । यसको असर बुद्धस्थलहरूमा समेत परेको देखिन्छ । मौर्यकालमा आईपुग्दा लुम्बिनी, कपिलवस्तु लगायतले बौद्ध पहिचान गुमाएर भग्नावशेषमा परिणत भैसकेका थिए भन्ने कुरा पाँचौ र सातौं शताब्दीमा लुम्बिनी आएका यात्रीहरूका वर्णन र पछिल्ला पुरातात्विक अध्ययनहरूले प्रष्ट पारिसकेका छन् । लुम्बिनी लामो समय धर्तिमुनि लुकेको अवस्थामा तराईमा वस्ती विकास हुँदै जाँदा लुम्बिनी क्षेत्रमा पनि बसोबास शुरु भयो र त्यहाँको घना वनमा भेटिएको मुर्तिलाई स्थानियहरूले आफ्नो आस्था अनुसार रुम्मिन्देही वा समयमाईको रूपमा पुजा गर्न थालेका हुन् । अशोक स्तम्भ पत्ता लागेको लामो समयसम्म पनि राज्यबाट वेवास्ता गरिएको लुम्बिनीलाई स्थानियहरूले हिन्दु परम्परा अनुसार पुजाआजा गरेर जोगाएका थिए । बि.स. २०३० तिर लुम्बिनी गुरुयोजना बन्न थालेपछि लुम्बिनीका बासिन्दाहरूको घरजग्गा अधिग्रहण गरियो । स्थानीयले नाईनास्ती नगरी अति कम मुआब्जा लिएर ठाउँ खाली गरिदिए । आफ्नो थातथलो छोडेपनि आफ्नो आस्था र संस्कृति मायादेवी मन्दिर परिसरमै थियो । शताब्दियौदेखि मायादेवी मन्दिर रहेको स्थानमा पुजाआजा गरिरहेका स्थानियहरूले अचेल त्यहाँ परम्परागत पुजा, कपाल मुन्डन, कराही चढ़ाना जस्ता काम गर्न, पुर्णिमा मेला लगाउन पाउँदैनन । मायादेवी मन्दिरदेखि टाढा हलमा रामकथा भन्न खोज्दा समेत केहि समुहहरूले तमासा गरे । यस्ता तमासाले बुद्धलाई मुठिमा राख्न खोज्ने जमातलाई फाईदा पुगेपनि समाजलाई भने राम्रो गर्दैन् ।

बुद्ध च्याप्दै, धर्म छोड्दै
बुद्धलाई सम्मान गर्ने भनेको बुद्ध दर्शनको पालना गरेर हो । बुद्ध नेपालमा जन्मिएका हुन, नेपाललाई बौद्ध राष्ट्र बनाउनुपर्छ, नेपाली नोटमा बुद्धको तस्विर राख्नुपर्छ भनेर धेरै मानिस बेलाबेलामा चिच्याउने गरेको भएपनि बौद्ध दर्शन पालना गर्ने गराउनेतर्फ ध्यान गएको पाईदैन । ३ दशक अघि सबैभन्दा धेरै बौद्धमार्गी भएका जिल्लाहरूमा नै सबैभन्दा बढी इशाईकरण भएको जनगणना प्रतिवेदनले देखाउँछ । बि.स. २०५८ सालमा नेपालको कूल जनसंख्यामा १०.७४ प्रतिशत बौद्ध भएकोमा २०७८ मा आईपुग्दा यो संख्या ८.२१ प्रतिशतमा झरेको छ । बुद्ध जन्मस्थल लुम्बिनीको नामबाट बनेको लुम्बिनी प्रदेशमा कूल जनसंख्याको १.९९ प्रतिशत मात्र बौद्ध जनसंख्या रहेको छ । लुम्बिनी, देवदह, रामग्राम र कपिलवस्तु नगरपालिकामा बौद्ध सम्बन्धि अनेकौ संघ सस्थाहरू रहेका छन् तर त्यहाँ बौद्ध जनसंख्या र बौद्ध वातावरण भेट्न मुस्किल हुन्छ । देवदहमा ६०६३ जना, सैनामैनामा २३१५ जना, रामग्राममा ४११ जना बौद्धमार्गी रहेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले देखाउछ । प्रमुख बौद्धस्थल लुम्बिनी साँस्कृतिक नगरपालिका र कपिलवस्तु नगरपालिकामा बौद्ध धर्म मान्नेहरूको संख्या क्रमश ७६ जना र १५० जना रहेको देखिन्छ । यहाँका प्रमुख बौद्ध स्थल छेउछाउमा ‘भविष्यमा लाभ हुने’ देखेर जग्गा जमिन किनेर राखेका र राजधानीमा बसेर बौद्ध अभियन्ता बनेकाहरूको संख्या यो भन्दा कैयौं गुणा धेरै हुन सक्छ । बुद्ध जयन्तिको सेरोफेरोमा मगर संघ लगायतका जनजाति समुहहरूले आफ्ना जातका मान्छेहरूको घरमा बौद्ध झण्डा फहराईदीन आईपुग्छन् र हामी हिन्दु हैनौ है भन्न सिकाएर जान्छन् । तर बौद्धमार्गी रहेका जनजातिहरू नै इशाई धर्ममा धर्मान्तरण गरेर जाँदा उनीहरूलाई केही भन्दैनन् । ‘हामी हिन्दु हैनौ’ भन्ने सिकाईरहँदा हामी यसरी बौद्ध मार्गी बन्नुपर्छ भन्ने कुरा नसिकाएको कारण बौद्ध धर्मको विस्तार हुन सकेको छैन ।

लुम्बिनी भजाउँदै, दुनो सोझ्याउँदै
सन् १८९६ डिसेम्बर १ मा अशोक स्तम्भको उत्खनन बुद्ध जन्मस्थल लुम्बिनी यहि ठाउँ हो भन्ने पहिचान भयो । लुम्बिनी पत्ता लगाउन खडग समशेरले गरेको मेहनत स्तुत्य छ । सन् १९३३ तिर जनरल केशर समशेरले लुम्बिनीको केहि उत्खनन गरि केहि संरचनाहरू समेत निर्माण गराए । त्यसको करिब ३५ वर्षसम्म लुम्बिनीको लागि राज्यस्तरबाट खासै काम भएको देखिदैन । सन् १९६७ मा संयुक्त राष्ट्रसंघका महासचिव ऊ थान्त लुम्बिनी भ्रमणमा आएपछि लुम्बिनी नयाँ युगमा प्रवेश ग¥यो । उनैको पहलमा लुम्बिनी अन्तर्राष्ट्रिय विकास समिति बन्यो र प्रो. केंजो टांगेलाई लुम्बिनी विकासको गुरुयोजना बनाउन लगाईयो । टाङ्गेले बनाएको गुरुयोजना अनुसार सन् १९७५ यता लुम्बिनीमा उत्खनन, पुनर्निर्माण र नयाँ निर्माणका कामहरू भैरहेका छन् । नेपाल सरकारले लुम्बिनी गुरुयोजनालाई राष्ट्रिय गौरवको योजनाको रूपमा अघि बढाएको छ । पटकपटक अन्तिम समय भनिरहँदा पनि गुरुयोजना सम्पन्न भएको छैन । कहिले गुरुयोजना सम्पन्न हुने हो ? कति खर्च हुने हो ? के के निर्माण हुने हो ? गुरुयोजना सम्पन्न भएपछि लुम्बिनी कस्तो हुन्छ भन्ने कुराको जवाफ कसैसंग छैन ।
लुम्बिनीको आध्यात्मिकतासंग सरकार र विकास कोषलाई सरोकार छैन । लुम्बिनीको विकासको लागि भनेर नागरिक धपाएर अधिग्रहण गरिएका जग्गाहरू होटेल, कलेज, अस्पताल बनाउन दिइएको छ । गुम्बामा होटेल चलाउन दिएर स्थानीय होटेलको ‘गास’ खोसिदा पनि सरोकारवाला मौन छन् । लुम्बिनी विकास कोष दलहरूलाई कमाउने र कार्यकर्ता खुशी पार्ने थलो बनेको छ । सत्ताधारी दलहरूले लुम्बिनी बुझेको र लुम्बिनीलाई ‘बौद्ध आध्यात्मिक थलो’ बनाउने पदाधिकारी कोषमा ल्याउनुको साटो दलको सेवा गरेको र लाभ दिन सक्ने व्यक्ति रोज्ने गरेका छन् । काठमाडौंमा बसेर र बिदेशमा घुमेर लुम्बिनी भजाएर आर्थिक लाभ लिनेहरूको हातमा आलोपालो लुम्बिनीको तालाचाबी पर्ने गरेको छ । यस्ता व्यवहारले गर्दा लुम्बिनी विश्व सम्पदा सूचीबाट निकालिने खतरा बढेको छ । लुम्बिनीकै हालत यस्तो छ भने रामग्राम, देवदह र कपिलवस्तुका बौद्ध स्थलहरूको अवस्थाको वर्णन गरिरहनु परेन ।

.र अन्तमाः
गौतमबुद्ध मानवजातिका गहना हुन् र बौद्ध दर्शन शान्ति, मैत्री र करुणाको साथमा जीवन चलाउने दर्शन हो । बौद्ध दर्शनलाई जीवनमा अपनाउनु, बौद्ध दर्शनमा आधारित समाज बनाउनु र बौद्ध दर्शन फैलाउनु बुद्धप्रतिको वास्तविक सम्मान हो । तर, अहिले बुद्धलाई सम्मान गर्ने नाममा सरकार, जातीय र स्थानीय समूहहरू, व्यवसायीहरू र दातृ निकायहरूले बुद्धलाई लिलामीमा चढाईरहेका छन् । बौद्ध दर्शनको प्रवद्र्धन, बौद्ध सम्पदाको उत्खनन तथा संरक्षण र बौद्ध स्थलमा बौद्ध आध्यात्मिकताको विकास गरि बौद्ध आध्यात्मिक पर्यटनबाट लाभ लिनुपर्नेमा बुद्धलाई आफ्नो पोल्टामा राखेर व्यक्तिगत लाभ कसरी लिन सकिन्छ भन्नेतर्फ मानिसहरूको ध्यान केन्द्रित छ । बुद्धलाई देखाएर छोटो समयमा कमाउने सोच भएका मानिसहरूले बुद्धलाई लिलामीमा चढाईरहेका छन् । यिनीहरूको चङ्गुलबाट बुद्धलाई मुक्त नगर्दासम्म बौद्ध सम्पदा अनि बौद्ध दर्शन सधै ओझेलमा परिरहनेछन् । बुद्धको लिलामी रोक्न सम्पूर्ण वास्तविक हिन्दु र बौद्धमार्गी, स्थानीय नागरिक र शान्तिप्रिय विस्वका सबै मानिसले ‘बुद्ध र लुम्बिनी’ प्रति चासो राख्नु जरुरी छ ।
अप्प दिपो भवः ।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?