© २०२३
पाल्पा, २४ बैशाख ।
लामो प्रतिक्षापछि रैनादेवी छहरा गाउँपालिका शिद्धेश्वरका स्थानीयलाई वर्षायाममा रिडीसम्म जानका लागि लामो बाटोको प्रयोग गर्न नपर्ने भएको छ । रिडी खोलामा मोटरेवल पुलकोे निर्माण भई सञ्चालनमा आएपछि पाल्पाका लागि मात्र नभई गुल्मीका लागि समेत आवतजावत गर्न सजिलो भएको छ ।
अर्घाखाँचीको सदरमुकाम सन्धीखर्क देखि आउने खोला पाल्पाको रिडीमा पुगेपछि कालीगण्डकी नदीमा मिसिने हुने हुँदा यसलाई रिडी खोला भनिन्छ । वर्षायाममा खोलाले धेरै व्यक्तीलाई बगायो । पटक–पटक माग गरेपछि प्रदेश सरकारले पुल निर्माणको लागि बजेट विनियोजन ग¥यो । पटक -पटक म्याद थप गरी योजना सम्पन्न गरेपछि सहज रूपमाआउने जाने सक्ने भएको सिद्धेश्वरकी स्थानीय कमला ज्ञवाली बताउँछिन् । पुल निर्माणको लागि बजेट विनियोजन भएपनि प्राविधिक कारण लगायतले पटक पटक पाँच पटक सम्म म्याद थपपछि बल्ल पुल निर्माण भएको हो ।
वर्षामा खोला धमिलो हुँदा यहाँका मानिसहरू वारीको वारी, पारीको पारी हुनुपर्ने अवस्था थियो । १० मिनेटको समयको लागि एक घण्टाको समय खर्चिनु पर्दथियो । रिडी कलेजका विद्यार्थीले त धेरै सास्ती नै खेपिरहेका थिए । आकासमा कालो बादल देखिन साथ पढाइ नै छोडेर खोलातिर ध्यान लैजानु भनेको सामान्य थियो । कहिलेकाहिँ बासै बस्नपर्ने अवस्था भएको स्थानीय माधव कुमाल बताउँछन् ।
लुम्बिनी सरकारको लगानी सडक पूर्वाधार कार्यालयको प्राविधिक रेखदेखमा ४५ लम्बाइको ३ करोड ७५ लाखमा पुल निर्माण भएको हो । यसबाट रैनादेवी छहरा गाउँपालिकाको सिद्धेश्वर र गुल्मीको छत्रकोट गाउँपालिकाको वडा नम्वर ५का सयौं परिवारलाई आवतजावत गर्न सजिलो भएको सडक पूर्वाधार कार्यालयका प्रमुख वासुदेव भण्डारी बताउँछन् ।
निर्माण कम्पनीसँग २०७४ सालको फागुन १४गते १८ महिनामा सम्पन्न गर्नेगरी राजेश्वरी पि.टि.आर. अधिकारी संग ठेक्का संझौता भएको पाँचौ पटक म्याद थपगरी गत पुस २९ गते सम्पन्न भएको पूर्वाधार कार्यालयका इन्जिनियर बिक्रम पृथीले बताए । पटक पटक म्याद थप गरी निर्माण कम्पनीले निर्माण कार्य पुरा गरेको उनले बताए ।
कार्यालयका अनुसार यस आर्थिक वर्षको अवधिमा तिनाउ गाउँपालिकाको बेल दमारमा २ करोड ५१ लाख ७ हजार २ सय २१ रूपैयाको लागतमा निर्माण भएको र तिनाउ कै झुम्सा खोलामा ३ करोड ४७ लाख ५८ हजार ३ सय ९३ रूपैया को लागतमा निर्मीत पुल यस आर्थिक वर्षमा सम्पन्न हुने कार्यालयले जनाएको छ ।
सडक पूर्वाधार कार्यालयका सूचना अधिकारी श्याम श्रेष्ठका अनुसार पूर्वखोला गाउँपालिकाको वडा नम्वर ५ मा सिमल्दी खोलामा ३ करोड ७५ लाख ४१ हजार ९ सय ७४ रूपैयाँको लागतमा र पूर्वखोला कै रकम खोलाको ६ करोड ८ लाख, ९ हजार रूपैयाको लागतमा र निस्दी गाउँपालिकाको माथिल्लो गल्धामा ५ करोड ९८ लाख ६३ हजार ९ सय ३२ रूपैयाँको लागतमा आउने आर्थिक वर्षमा सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढेको छ ।