© २०२३
गुल्मी, २२ वैशाख ।
गुल्मीमा कुकुरको बन्ध्याकरण गर्ने अभियानबाट चार सय बढी कुकुरको बन्ध्याकरण गरिएको छ । बजारमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि हुन थालेकाले त्यसको न्यूनीकरणका लागि बन्ध्याकरण अभियान चलाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जनाएको छ । विज्ञ केन्द्रका प्रमुख हुमाकान्त पाण्डेयका अनुसार जिल्लाको रेसुङगा नगरपालिकामा १०७, छत्रकोट १०८, धुर्कोटमा ९४ र मदाने गाउँपालिकामा ९४ गरी ४०९ कुकुरको बन्ध्याकरण गरिएको हो । घरपालुवा र सामुदायीक कुकुर गरी ४०९ कुुकरको बन्ध्याकरण गरिएको कार्यालयले जनाएको छ । हिमालयन एनिमल रेष्क्यु ट्रस (हार्ट) नेपाल पोखराको प्राविधिक सहयोगमा विशेषज्ञ डक्टर सहितको टिमले स्थानीय तहमै शिबिरको आयोजना गरेर कुकुरको बन्ध्याकरण गरिएको हो ।
गुल्मीमा कुल आठ हजार कुकुर
जिल्लाभर कुल आठ हजार कुकुर रहेको तथ्याङ्क कार्यालयसँग रहेको छ । जसमध्ये चार हजार सामुदायिक कुकुर र चार हजार घरमा पालेका कुकुर रहेको कार्यालयले जनाएको छ । कुकुरको बन्ध्याकरण गर्दा आयु बढने, मोटाउने र स्वस्थ रहेको बताइएको छ । कुकुरलाई रेबिज भ्यक्सीनसमेत लगाइने भएकाले रेबिज रोकथाममा यसले टेवा पुग्ने अपेक्षा गरिएको छ । पछिल्लो समय बजार क्षेत्रमा रहेका छाडा कुकुरले टोक्ने क्रम बढ्दै गएको छ । सदरमुकाम तम्घासमा भुस्याहा कुकुर कराएर रातीमा राम्रोसँग सुत्न पनि समस्या हुने गरेको स्थानीयहरुले जनाएका छन् ।
गत वर्ष गुल्मीदरबार गाउँपालिकामा कुकुरको टोकाइका कारणले रेबीज लागेर एक जना महिलाको ज्यानसमेत गएको थियो । त्यस्तै गाई भैसीलाइसमेत कुकुरले टोक्ने क्रम बढेको थियो । जिल्लाका मुख्य बजार क्षेत्रमा छाडा कुकुरको संख्या धेरै रहेको छ । गुल्मी अस्पतालका सूचना अधिकारी रमेश पन्थीका अनुसार जिल्लामा चालु आर्थिक वर्षको चैतसम्ममा ८८० जनालाई कुकुले टोकेर रेबिज बिरुद्धको खोप लगाउन गुल्मी अस्पतालमा आएको बताए ।
भुस्याहा कुकुरका कारण सडकमा सवारी चलाउनसमेत समस्या हुने गरेको सवारी चालक लक्ष्मण नेपालीले गुनासो गरे । यसलाई ब्यबस्थापन गर्नका लागि सरोकारवाला निकायले समयमै ध्यान दिनुपर्ने उनको सुझाव छ । यसका साथै बालबालिकालाई विद्यालय जाँदा र आउँदासमेत एक्लै छाड्न समस्या हुने गरेको यहाँका स्थानीयहरुले जनाएका छन् ।